वायु प्रदूषणको असर जोखिमतर्फ



काठमाडौं ।  केही दिनयता देशको वायु प्रदूषण तीव्र रूपमा बढिरहेको छ। वातावरण विभागको रेकर्डअनुसार अहिले प्रत्येक घन्टा वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ –एक्युआई) २०० हाराहारी पुगेको छ।

बिहीबारको वायु प्रदूषण मापन स्टेसनको प्रत्येक घन्टाको रिपोर्टअनुसार खुमलटारको एक्युआई १७३, भैँसेपाटीको २२१, शंखपार्कको १७३, त्रिविविको १५२ र रत्नपार्कको १५५ पुगेको छ। २४ घन्टाको रिपोर्टअनुसार खुमलटारको एक्युआई १७८, भैँसेपाटीको १७७ र शंखपार्क १७७, रत्नपार्कको १७६, त्रिविविको १६५ र धनकुटाको १३१ छ । धनकुटा, पोखरालगायत भेगको एक्युआई १०० भन्दा माथि छ।

नेपालको राष्ट्रिय मापदण्डअनुसार २४ घन्टामा सूक्ष्म धुवाँ र धुलोको कण (पिएम २.५) को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हो। अमेरिकाको वातावरण संरक्षण संस्था (इपिए)का अनुसार एक्युआई ० देखि ५० राम्रो हो । ५० देखि १०० मध्यम, १०१ देखि १५९ विशेष समूहका रोगीका लागि अस्वस्थकर, १५१ देखि २०० अस्वस्थकर, २०१ देखि ३०० धेरै अस्वस्थकर र ३०१ देखि ५०० जोखिमपूर्ण मानिन्छ।

इपिएको आधारलाई मान्ने हो भने काठमाडौँको वायु धेरै अस्वस्थकर छ। जुन सबै समूहका मानिसका लागि हानिकारक छ। वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलका अनुसार यो प्रदूषण कम हुनका लागि पश्चिमी वायुको प्रभाव बलियो हुनुपर्छ। अहिले पश्चिमी वायुको प्रभाव कमजोर छ। हावाको बहाव बढ्दा र पानी परेको अवस्थामा पनि प्रदूषण घट्ने पौडेलले बताए।

वायु प्रदूषणको कारक डढेलो

पछिल्लो समय देशको अधिकांश भागका जंगलमा डढेलो लागेको छ। सुख्खा खडेरीको बढ्दो क्रमसँगै बुधबार मात्र देशभर एकै दिन १७ जिल्लाका ३७९ स्थानमा डढेलो लागेको थियो।

विभागको तथ्यांकअनुसार १ वैशाखमा २६ जिल्लामा ११२, २ वैशाखमा ८ जिल्लामा २८, ३ वैशाखमा १२ जिल्लामा ३२, ४ वैशाखमा १० जिल्लामा ६४ र ५ वैशाखमा ३३ जिल्लामा १८० स्थानमा डढेलो लागेको थियो। पछिल्लो समय ह्वात्तै बढेको डढेलो यस वर्षकै धेरै हो।

देशको वायु प्रदूषण बढ्नुको मुख्य कारण डढेलो हो। यसका अलवा वायु प्रदूषण हुनुका कारण भौतिक पूर्वाधार निर्माण, उद्योग कलकारखानाबाट निस्कने धुवाँ, सवारीसाधनबाट निस्किने धुवाँ, जथाभावी फोहोर फाल्ने र जलाउने, भारतमा पराल वा छ्वाली डढाउनेलगायत हुन् ।

अहिले देशभर वायु प्रदूषण बढ्नुको मुख्य कारण डढेलो भएको बातावरणविद्हरू बताउँछन्। गाउँ–गाउँका जंगलमा लागेको डढेलोका कारण देशका मुख्य शहरहरू प्रदूषित छन्। वातावरण विभागका अनुसार पछिल्लो समय काठमाडौँको वायु धेरै हानिकारक छ। काठमाडौँको आकाश तुवाँलोले ढाकेको छ।

विगतका केही वर्षदेखि काठमाडौँ, पोखरा, भरतपुर र वीरगन्जलगायत शहरमा वायु प्रदूषणको मात्रा बढिरहेको छ। गत साताको तथ्यांक हेर्ने हो भने काठमाडौँको वायु प्रदूषण तोकिएको मापदण्डभन्दा निकै बढी पुगेको देखिन्छ। द्रुत गतिमा विकासले अघि बढिरहेको राजधानी काठमाडौँलगायत राजधानी बाहिरका उपत्यकाहरूमा वायु प्रदूषण एक दीर्घकालीन समस्या बन्दै गएको छ।

कस्तो छ अवस्था

वायु प्रदूषण विश्वमा नेपालको अवस्था तेस्रो स्थानमा छ। एसियाको पहिलो प्रदूषित शहरका रूपमा राजधानी काठमाडौं छ। विश्व एक्युआई रेकर्डअनुसार इरान र म्यानमारपछि नेपाल तेस्रो नम्बरमा छ। विश्वमा तेस्रो प्रदूषित देश नेपालको एक्युआई १५७ छ।

प्रत्येक घन्टाको रेकर्डअनुसार काठमाडौं शहरको वायु प्रदूषण धेरै अस्वस्थकर तहमा पुगेको छ। वातावरण विभागका रेकर्डअनुसार ६ वटा स्टेसन मात्र सञ्चालनमा छन्। त्यसबाहेक अन्य स्टेसन अहिले बन्द छन्।

गत वर्ष पनि वायु प्रदूषण मापन धेरै अस्वस्थकर स्तरसम्म पुगेको थियो। विगत ५ वर्षको वायु प्रदूषणको तथ्यांक अवलोकन गर्ने हो भने मात्र पनि यस अवधिमा ५० प्रतिशतभन्दा बढीले वायु प्रदूषण बढेको देखिन्छ। पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलोबीचको दुश्चक्रीय अन्तरसम्बन्धले समस्या जटिल बन्दै गएको छ।

जलवायु परिवर्तनका कारण डढेलोका घटनासमेत वृद्धि हुँदै आएको देखिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् २००८ देखि सन् २०२१ सम्म वन डढेलोका ३४ हजार ७२५ घटना रेकर्ड भएका छन्।

विगत १४ वर्षसम्म संकलन गरिएको डढेलोका घटनामध्ये सन् २०१६ मा सबैभन्दा बढी ७ हजार ७६७ र सन् २०१५ मा सबैभन्दा कम ७०६ वटा घटना पाइएको छ। त्यसकारण वायु प्रदूषणको पहिलो र मुख्य कारण वनमा लाग्ने डढेलो हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हरेक वर्ष विश्वमा ७० लाख हाराहारी व्यक्तिको मृत्यु वायु प्रदूषणले हुने गर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वायु प्रदूषण प्रभावका कारण वार्षिक ४२ हजार मानिसको मृत्यु हुने गरेको छ। वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या भने वार्षिक रूपमा बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्