कम्युनिस्ट पार्टीहरूबिच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्छौ : नेपाल 



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूबिच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् ।

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबिच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै  आफूहरूले तसको जाँडै घोषणा गर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलन उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै  माधव नेपालले यस्तो बताएका हुन् ।

छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गरेर हामी प्रस्तुत हुन गइरहेका छौँ । त्यसका निम्ति हामी अरू समूहहरूसँग पनि कुरा गर्दै, गर्दै जानेछौँ । सहभागी हुन चाहनेहरूलाई समाजवादी मोर्चामा आबद्ध गरिनेछ । अझै त्यो भन्दा अगाडि बढेर विचार पनि मिल्यो भने, नीति, सिद्धान्त पनि मिल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, अनि हाम्रो सङ्गठनात्मक सोचहरू पनि मिल्यो भने, हाम्रो कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौँ, उनले भने ।

 उनले नेपालमा  रहेका विभिन्न दलहरूलाई समाजवादी मोर्चामा  आउन आग्रह गर्दै नेपालको विकासमा लाग्न आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो पार्टीले बाम–समाजवादी शक्तिहरूसँग सहकार्यको नीति अघि सारेको छ । अझ अगाडि बढेर समाजवादी मोर्चा निर्माण गर्ने सोच पनि अगाडि सारेको छ । र, म धन्यवाद दिन चाहन्छु–नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डलाई, सम्माननीय प्रधानमन्त्रीलाई । उहाँले पनि यो समाजवादी मोर्चाको काम छिटो हामी गरौँ भनेर बारम्बार ताकेता गर्दै हुनुहुन्छ । र, छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामु घोषणा गरेर हामी प्रस्तुत हुन गइरहेका छौँ।’कार्यक्रममा उनले नेपालमा आस लाग्दो पार्टी भनेको कम्युनिस्ट मात्रै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्