लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीको दाबी पेस



काठमाडौँ । नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

दाङ-३ को १ बाट प्रदेश सभा सदस्य चुनिएका चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेस गरेका छन् । उनले ५३ सांसदको समर्थनसहितको हस्ताक्षर बुझाएका छन् ।

गत पुस २७ मा संविधानको धारा १६८ (२)अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्