अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत : गगन थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको बताएका छन्। बिहीबार ट्विट गर्दै थापाले सरकाको सो निर्णय गलत भएको बताएका हुन् । उनले भनेका छन् ,’राज्य कोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्य कोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ ।’

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेको भन्दै सरकारलाई रकम बाँड्न होइन पीडित मैत्री कानुन बनाई सङ्क्रमणकालीन न्यायको कामलाई शीघ्र टुङ्ग्याउने विषयमा केन्द्रित हुन आग्रह गरेका छन्।

‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकोले सरकार रकम बाँड्न होइन, पीडित मैत्री कानुन बनाई सङ्क्रमणकालीन न्यायको कामलाई शीघ्र टुङ्ग्याउन केन्द्रित होस्’, उनले भनेका छन्।

माओवादीका अयोग्य लडाकुलाई राहत दिन सरकारले कार्यविधि तयार पारेको छ। गृह मन्त्रालयले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिनेसम्बन्धी कार्यविधि तयार पारेको हो। गत चैत ६ गते मन्त्रिपरिषद् कार्यविधि बनाउने निर्णय गरेको थियो। अर्थ मन्त्रालयले कार्यविधि जारी गर्न चैत २ गते नै सहमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्