प्रतिनिधिसभा बैठक बस्दै, संवैधानिक परिषद्‌सम्बन्धी विधेयक कार्यसूचीमा परेन



काठमाडौं । संघीय संसद्‌को तल्लो सदन (प्रतिनिधिसभा)को बैठक आज (शुक्रबार) बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित एउटा कार्यसूची छ। शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत (संसदीय समिति)मा रहेन प्रतिनिधि सभाका सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने भएका छन्।

प्रमुख राजनीतिक दलहरुबीच समितिको नेतृत्वको सम्बन्धमा भागबण्डा मिलेपछि समितिलाई पूर्णता दिन लागिएको हो। संवैधानिक परिषद्‌सम्बन्धी विधेयक भने सम्भावित कार्यसूचीमा परेको छैन। दलहरुका बीचमा कुरा नमिलेपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक सम्भावित कार्यसूचीमै नपरेको हो। विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको छैन।

यसअघि प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा संसद्‌बाट छिट्टै विधेयक पारित गरेर संवैधानिक परिषद्‌को बैठक बोलाइ प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने सहमति भएको थियो। तर, एमालेले बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विधेयकको प्रावधानहरुका सन्दर्भमा प्रश्न उठाएपछि विधेयक कार्यसूचीबाट हटेको थियो।

बुधबारको बैठकको सम्भावित कार्यसूचीबाट हटेको विधेयक शुक्रबारको सम्भावित कार्यसूचीमा पनि परेन। संवैधानिक परिषद्‌को अध्यक्षका रुपमा प्रधानमन्त्रीको ‘विशेषाधिकार’ हटाउनुपर्ने एमालेको मागका कारण विधेयकका सन्दर्भमा पुन: ‘विवाद’सुरु भएको हो। सत्ता पक्षले एमालेको मागमा सहमत हुन नसकिने बताएपछि विधेयक पुन: अलपत्र पर्ने देखिएको हो।

प्रतिक्रिया दिनुहोस्