बालेन्द्रले तोडे काठमाडौं महानगरपालिकाको शिक्षा शाखामा विद्यार्थी संगठनले लगाएको ताला



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो शिक्षा शाखामा एक विद्यार्थी संगठनले लगाएको ताला फोडेको छ। नेकपा बहुमतको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला तोडिएको हो।

महानगरपालिकाले बिहीबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र तिनका भ्रातृ संगठनले राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको थियो। त्यसको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा बिहीबार दिउँसो ताला लगाइदिएको थियो। तर त्यो ताला फोडिएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जानकारी दिएका छन्। ताला बिहीबार राति तोडिएको बताइएको छ।

मेयर शाहले भनेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ। त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेका छौँ।’

अलिख क्रान्तिकारीले विज्ञप्ति जारी गरी शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनका विरुद्ध ‘बालेन सरकार’ अघि सरेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्