अहिलेकै सरकार निरन्तर पाँच वर्ष सम्म जान्छ : ज्ञानेन्द्रबहादुर कार्की 



काठमाडौँ । सरकारको आयु कति लामो भन्ने विषयमा विभिन्न प्रश्नहरू उठिरहेका वेलामा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले  अहिलेको सरकार  पाँचै वर्ष सम्म चल्ने बताएका छन् । उनले अहिलेको सरकार पाँचै वर्ष चल्ने बताउँदै नेकपा एमाले पाँचै वर्ष सम्म प्रतिपक्षमा बस्ने बताए ।

सुनसरी सदरमुकाम  रहेको इनरुवा नगरपालिका ४ को हनुमान चौकदेखि सीमावर्ती देपानगञ्ज गाउँपालिकासम्म जोड्ने सडकको शिलान्यास गर्ने  क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपालमा अस्थिरता मच्चाउने शक्ति सधैँ लागिरहेको छ । त्यस शक्तिलाई पराजित गर्नु अहिलेको चुनौती हो । वर्तमान सरकार ढल्छ भन्ने हल्ला चलाइएको छ । म तपाईँहरूलाई ढुक्कका साथ भन्छु आउने पाँचै वर्ष गठबन्धनको सरकार टिक्छ, एमाले पाँचै वर्ष प्रतिपक्षी हुन्छ ।’

अहिलेको सरकालाई समर्थन दिएको दल रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने र प्रचण्डले विश्वासको मत नपाउने र त्यसपछि एमाले र काँग्रेसको सरकार बन्ने विभिन्न टिप्पणी भइरहेका छन् । एमालेले पनि अहिलेका  सरकार आफै ढलेर जाने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्