अब चुनावमा काँग्रेसकाे गठबन्धन हुन्न : गगन थापा



काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले चुनावअघिको गठबन्धनबाट ४ मङ्सिर को चुनावमा र गत १० वैशाखको उपनिर्वाचनमा आशा गरे अनुसारको नतिजा नआएको बताउँदै आएका छन् ।

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काठमाडौँमा आयोजित कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापाले अबदेखि चुनावअघि गठबन्धन गर्नु अनावश्यक रहेको बताएका छन् ।  उनले भने ,  ‘काँग्रेसले नीति अधिवेशनबाट के कुरा भन्नै पर्छ भने आफ्नो मतदातालाई अरू दलको चुनाव चिह्नमा मत हाल्न लगाउँदैनौँ, ‘नेपाली काँग्रेस २० वर्षसम्म हारे हार्छ, कुनै पनि दलसँग कहिले पनि चुनाव अघि गठबन्धन गर्दैनौँ ।’

उनले आगामी निर्वाचनमा अब नेपाली काँग्रेसले एक्लै चुनावमा लड्नु पर्ने बताएका छन् । उनले भने ,‘एकै पटक तीन पुस्ताका व्यक्तिहरू पार्टीमा छौँ । नयाँ साथी आउन खोज्दै हुनुहुन्छ । बाहिरबाट आउने साथीहरूलाई झ्याल ढोका थुनेर रोक्नु हुँदैन । पार्टीभित्र क्षमता देखाउन सक्छु भन्ने व्यक्तिहरूलाई स्वीकार हुने व्यवस्था गर्नुपर्दछ ।’

 उनले उम्मेदवार छनोट गर्ने पार्टीको हालको अभ्यास पनि बेठीक रहेको बताए । उनले भने, ‘पार्टीका केही नेताहरू बसेर उम्मेदवार छान्ने अभ्यासले हामीलाई ठिक ठाउँमा पुर्‍याएन ।’

केन्द्रीय सदस्य ननसिंह महरले २० औँ वर्ष प्रतिपक्ष बस्न परे पनि चुनावी गठबन्धन गर्नै  नहुने  बताएका छन् ।   उनले भने,‘नेतृत्वलाई सचेतना आएको बुझेको छु । हामीमाथि लागेका आरोप व्यवहारले खण्डन गर्न सक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्