भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरूले नेपाल र नेपालीको नाम राखुन् : राष्ट्रपति रामचन्द्र पौडेल



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एसिया कप क्रिकेटमा छनोट भएकामा खेलाडी, प्रशिक्षक र सबै पदाधिकारीलाई बधाई दिएका छन् । राष्ट्रपतिले एक बधाई सन्देश जारी गरी युनाइटेड अरब इमिरेट्सलाई हराएर एसीसी प्रिमियर कपको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई दिएका हुन् ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि हात पारेको हो । राष्ट्रपतिले भनेका छन्, ‘खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।’

पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरूले नेपाल र नेपालीको नाम राख्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्