बुद्ध जयन्ती मनाउन एक करोड बजेट



काठमाडौँ । लुम्बिनी विकास कोषले २५६७औँ बुद्ध जयन्ती मनाउन एक करोड रुपैयाँ बजेट छुट्टाएको छ । लुम्बिनी विकास कोषले आज पत्रकार सम्मेलन गरी बुद्ध जयन्तीका लागि उक्त रकम छुट्टाएको जनाएको हो ।

यो वर्षको बुद्ध जयन्ती वैशाख २२ गते मनाइँदै छ । बुद्ध जयन्ती अन्तर्गत वैशाख २१ गते बिहान दीप प्रज्वलन, महापरित्राण हुने र २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभा यात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुने कोषले जनाएको छ ।

२२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्त्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

हरेक वर्ष बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट छुट्टाउने गरेको सदस्य सचिव शाक्यले बताए । बुद्ध जयन्ती मनाउन हरेक वर्ष एक करोड बजेट छुट्टाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्