शैक्षिक क्षेत्रको सुधारका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री



काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताए।

शिक्षकका समस्याका बारेमा आफू जानकार रहेकाले सम्बोधनको पहल गर्ने प्रधानमन्त्रीले आश्वासन दिएका एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए।

उनका अनुसार महासङ्घले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्न र आगामी आर्थिक वर्षको बजेटमा शिक्षक कर्मचारीका माग पूरा गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ।

महासङ्घले विशेष गरी शिक्षा क्षेत्रका लागि कूल बजेटको २० प्रतिशत बराबरको रकम लगानी गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्