जङ्गलमा लागेको आगो बस्तीमा पस्दा निभाउने क्रममा पाँच जना गम्भीर घाइते



काठमाडौँ । जङ्गलमा लागेको डढेलो बस्तीमा  पस्दा निभाउने क्रममा अर्घाखाँचीमा पाँच जना घाइते भएका छन्।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं। २ तिरतिरे खोलाको जङ्गलमा मङ्गलवार बिहानैदेखि लागेको डढेलो एक्कासि बस्तीमा पसेको हो ।

जङ्गलबाट सल्किएको डढेलोबाट स्थानीय ५५ वर्षीय पदम बेलबासेको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो। सोही घरको आगो निभाउने क्रममा घरधनी पदम बेलबासे, ३६ वर्षीय माधव बेलबासे, ५२ वर्षीय घनश्याम बेलबासे, ७२ वर्षीय पिताम्बर बेलबासे र २६ वर्षीय अस्मिता बेलबासे घाइते भएका छन्। आगलागीमा परेका पाँचै जनाको अवस्था गम्भीर छ।

मध्याह्न १२ बजेतिर भएको उक्त घटनामा परी घाइते भएका सबैलाई थप उपचारको लागि सन्धिखर्कबाट युनाइटेड मिसन अस्पताल पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्