राज्यसत्ताले मधेसलाई हेर्ने दृष्टिकोण फेर्नुपर्छ : सांसद श्रेष्ठ



वीरगन्ज । राज्यसत्ताले मधेस र मधेसी जनतालाई हेर्ने दृष्टिकोण बदल्न प्रतिनिधि सभा सदस्य कृष्ण कुमार (किसान) श्रेष्ठले आग्रह गरेका छन् । बाराको क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्रेष्ठले मधेसमाथि हुने विभेद अब सह्य नहुने बताए । बुधवारको प्रतिनिधि सभा बैठकमा सहभागी हुँदै सांसद श्रेष्ठले अब मधेसबाट प्रधानमन्त्री बन्ने पालो आएको बताए । उनले भने, ‘सुदूर पश्चिमबाट पूर्वबाट, कहिले कताबाट कहिले कताबाट प्रधानमन्त्री भए, तर मधेसबाट कोही पनि भएको छैन । त्यही भएर होला मधेसीमाथि सधैँ विभेद हुने गरेको छ । अब मधेसबाट प्रधानमन्त्री बन्ने पालो आएको छ ।’

पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठले मधेसमा विद्यमान नागरिकताको समस्या समाधान गर्न पनि ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘बाबु आमाले पाइसकेका छन् भने छोराछोरीले पाएका छैनन्, दिदी दाइले पाएका छन् र भाइ बहिनीले पाएका छैनन् । चर्को रूपमा रहेको नागरिकताको समस्या यथाशीघ्र समाधान गर्न आग्रह गर्दछु ।’

दुई/दुई पटक सांसदबाट पास भएको नागरिकता सम्बन्धी विधेयक तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारीले प्रमाणीकरण नगर्दा नागरिकता विहीनहरूले सास्ती खेप्नु परेको श्रेष्ठको भनाई छ । उनले मधेसको विकास नभएसम्म देशको विकास नहुने दाबी गरे । उत्पादनका लागि उर्वरायुक्त भूमि भए पनि किसानहरूले मल र बिउका लागि आन्दोलन गर्नुपर्ने दुखद अवस्थाको अन्त्य गर्न उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

श्रेष्ठले भने, ‘कृषिका लागि उर्वर भूमि छ, तर किसानका अनगिन्ती समस्याहरू छन्, कृषकहरूले हरेक वर्ष मल र बिउ नपाउने अवस्था विद्यमान छ, मल र बिउ पाउनकै लागि आन्दोलन गर्न किसान बाध्य छन् ।’ बाराको पथलैया लगायत मधेसका विभिन्न स्थानमा अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्वासी रहेको हुँदा उनीहरूलाई व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गर्न पनि उनले माग गरेका छन् ।

अमलेखगन्जमा खाने पानीको समस्या समाधानका लागि र बाराको प्रसौनीस्थित प्राविधिक शिक्षालयको भौतिक पूर्वाधार निर्माणका लागि पनि उनले बजेटको माग गरे । त्यस्तै वीरगन्जदेखि पथलैयासम्म रहेका उद्योगहरूमा कम्तीमा ४० प्रतिशत स्थानीयलाई नै रोजगारी दिनुपर्ने व्यवस्था गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् । ‘आगामी बजेटमा मन्त्रीको क्षेत्रमा मात्रै बजेट र योजना पार्ने हो भने सबैभन्दा पहिला म आफै बजेट च्यात्नेछु’ सांसद श्रेष्ठले भने, ‘त्यसैले मन्त्रीको मात्रै हैन, सबै माननीयको क्षेत्रमा आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन हुनुपर्छ ।’

यसअघि उनले आफूलाई निर्वाचित गराउन मत दिने बारा क्षेत्र नम्बर ४ का मतदाता र गठबन्धनमा आबद्ध दलप्रति आभार आभार व्यक्त गरे भने उपनिर्वाचनमा विजयी भएका माननीयलाई पनि बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्