नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा एमालेको साथ पाउँनेमा श्रेष्ठ ढुक्क 



काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको आफूलाई सहयोग गर्ने आश्वासन दिएको बताएका छन् । सिंहदरबारमा शीर्ष नेताको भेटघाटपछि श्रेष्ठले भने, ‘मेरो केही दिनअघि प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीको निवासमा उहाँसँग भेट भएको थियो । केही दिनअघि उहाँमाथि पूर्वमा भएको आक्रमणबारे दु:ख प्रकट गरेको थिएँ । काठमाडौँ आएपछि भेट्छु भनेको थिएँ ।’

 ‘यो सामान्य भ्रष्टाचारको केस होइन । यो राष्ट्रको अपमान गर्ने र स्वाभिमान गिराउने यसको विरुद्ध अनुसन्धान बढाउनुपर्छ र दोषी जोसुकैलाई कारबाही गर्नुपर्छ भनेर सहयोग र आडभरोसाको माग गरेँ । उहाँले म सहयोग गर्छु निर्दोष नफस्ने र दोषी नछुट्ने गरी अघि बढ्नुस् भन्नुभएको थियो । हिजो बालुवाटारको शीर्ष बैठकमा पनि मैले उहाँलाई धन्यवाद दिएको छु, उनले भने।

 उनले भने, ‘उहाँहरूले साथ दिने कुरा गर्नुभएको छ । निष्पक्ष ढङ्गले अनुसन्धान बढाउन र निष्कर्षमा पुर्‍याउन अनुसन्धानको क्रममा तानिन्छन् । उनीहरू पक्राउ पर्छन् ।’ साथै उनले यस प्रकरणमा आफूले कसैलाई फसाइनु हुँदैन भनेर प्रहरीलाई निर्देशन दिइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्