जेठ लाग्दै किन झरी ?



काठमाडौं । मेघ गर्जन र हावाहुरीसहितको वर्षाको असर केही दिन अझै रहने भएको छ। स्थानीय वायु, पश्चिमी र बंगालको खाडीको मिश्रित वायुको प्रभावले अधिकांश भेगमा मध्यम स्तरको वर्षा हुनेछ। अपराह्न र साँझको समयमा यस्तो गतिविधि दोहोरिने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।

विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले द नेपालटपसँग भने, ‘दिउँसो मौसम खुला भए पनि काठमाडौं उपत्यकासहित धेरैजसो पहाडी भेगमा वर्षा हुनेछ।’ आज (शुक्रबार) काठमाडौं र आसपासका भेगको मौसम सुधार हुने भए पनि भोलि शनिबार पुनः प्रभावित बन्ने उनले जानकारी दिए ।

शनिबार काठमाडौँसहित अधिकांश पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा हुनेछ। बिहीबार पश्चिमी भेगमा विकास भएको मौसमी प्रणालीले गण्डकी प्रदेशका अधिकांश भेगमा मध्यम स्तरको वर्षा भएको थियो । सो प्रणाली पूर्वतर्फ सर्ने क्रममा बाग्मती र कोसी प्रदेशका पहाडी भू–भागमा मेघ गर्जनसहितको वर्षा भएको महाशाखाले जनाएको छ।

प्रि–मनसुनको समयमा क्षणभरमै मौसम बदलिने, क्षणिक र हल्का वर्षा दोहोरिने भएकाले अहिलेको मौसमलाई अस्वाभाविक मान्नुनपर्ने मौसमविद् श्रेष्ठको भनाइ छ। ‘अहिले हावाहुरी चल्ने समय हो । यही बेला वर्षा हुँदा धेरैलाई अस्वाभाविक जस्तो लाग्न सक्छ, तर प्रि–मनसुनमा चट्याङसहित असिना–पानी पर्नु अस्वाभाविक होइन’, उनले भने।

प्रि–मनसुनमा (मनसुन सुरु हुनुअघि) स्थानीय वायु बढी सक्रिय हुने र यही बेला अरब सागर र बंगालको खाडीबाट पर्याप्त जलवाष्पसहितको वायु भित्रिएको खण्डमा मध्य वर्षाझैँ झरी पर्ने मौसमविद्हरू बताउँछन् । हल्का र मध्यम स्तरको वर्षाका गतिविधि दोहोरिए पनि हरेक दिन निरन्तर मनसुनझैँ वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ।
मनसुन भित्रिन अझै ४ साता बाँकी छ।

जेठ अन्तिम साता जुन १३ (जेठ ३०/३१) देखि अक्टोबर २ (असोज १५/१६) नेपालको मनसुन क्यालेन्डर हो। अंग्रेजी महिनाका जुन, जुलाई, अगस्ट र सेप्टेम्बर नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो ।

प्रतिक्रिया दिनुहोस्