सगरमाथामा बनेका कीर्तिमान



काठमाडौं । गत मंगलबार कामीरिता शेर्पाले २८औँ पटक सगरमाथा आरोहण गरे। यसको केही दिनअघि मात्र दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथा आरोहण गरेका थिए । सगरमाथा आरोहणको इतिहासमा यी दुवै महत्वपूर्ण कीर्तिमान हुन्।

हरिले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन्। झन्डै ५ वर्षको प्रयासपछि उनले सगरमाथाको सफल आरोहण गरेका हुन्। रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका उनले बेलायती सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए। दुवै खुट्टा नभएर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति भने चिनिया नागरिक सिया पोयु हुन् । उनले २ जेठ, २०७५ मा सगरमाथाको सफल आरोहण गरेका थिए।

सगरमाथासम्बन्धी यस्ता अनेकौँ कीर्तिमान विगतमा पनि बनेका थिए। यस्ता धेरै कीर्तिमान विदेशीका नाममा छन् भने केही नेपालीका नाममा । तर, विदेशीले राखेका ती कीर्तिमानमा नेपालीको भूमिका भने महत्वपूर्ण छ। सबै विदेशी आरोही नेपाली गाइडको सहारामा मात्र सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान कायम गरेका छन्।

सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला भने नेपालकै लाक्पा शेर्पा हुन्। उनले १२ मे, २०२२ मा १०औँ पटक सगरमाथाको चुचुरोमा पुग्दै कीर्तिमान कायम गरेकी हुन् । मे १८, २००० मा उनले सगरमाथा आरोहणपछि सकुशल फर्किने पहिलो महिलाको कीर्तिमान कायम गरेकी थिइन्।

सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन अमेरिकाका एरिक ह्वेन मायर हुन्। उनले २५ मे, २००१ मा सफलता पाएका थिए। सगरमाथाको चुचुरोमा विवाह गर्ने पहिलो जोडी नेपालकै प्रेम दोर्जे र मोनी मुलेपाटीको हो। उनीहरूले ३० मे, २००५ मा सगरमाथाको चुचुरोमा विवाह गरेका थिए।

एक पटकभन्दा बढी सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति भने भारतका नवाङ गुम्बु हुन् । उनले सन् १९६३ र १९६५ मा आरोहण गरेका थिए। एक पटकभन्दा बढी आरोहण गर्ने पहिलो महिला सन्तोषी यादव हुन् । उनले सन् १९९२ र १९९३ मा आरोहण पूरा गरेकी थिइन्।

२९ मे, १९५३ मा पहिलो पटक सगरमाथा आरोहण भएको थियो। न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेका हुन्। पहिलो र दोस्रो विश्वयुद्धको समयमा बेलायतले सञ्चालन गरेका ७ वटा अभियान र दोस्रो विश्वयुद्धपछि नेपालतिरबाट गरेका ३ वटा अभियानपछि मात्र विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आरोहण सम्भव भएको हो।

सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पा हुन्। उनले १० वैशाख, २०५० सालमा दक्षिणी मोहडाबाट सगरमाथाको आरोहण गरेकी हुन् । ३ पटकको प्रयास असफल भएपछि चौथो प्रयासमा उनको सगरमाथा आरोहण सफल भएको थियो।

पति सोनाम छिरिङसँग फर्कंदै गर्दा उनको मृत्यु भएको थियो । सगरमाथा आरोहण गर्ने पहिलो महिला भने जापानकी जुन्को ताबेई हुन् । उनले १६ मे, १९७५ मा सगरमाथा आरोहण गरेकी थिइन् ।

२१ जेठ, २०७६ मा नेपालकै मिङमा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर कायम गरेको कीर्तिमान अझै कायम छ । उनले ६ घन्टा १ मिनेटमा सगरमाथाको आरोहण गरेका हुन्। २१ मे, २०१९ मा हङकङकी चाङ यिन हुङले २५ घन्टा ५० मिनेटमा आरोहण गर्दै सबैभन्दा कम समयमा आरोहण पूरा गर्ने महिलाको कीर्तिमान कायम गरेकी हुन् ।

सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गर्ने कीर्तिमान स्पेनका कार्लोस सोरियाको नाममा छ । उनले ७ फेब्रुअरी, २०२१ मा ८१ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका हुन्। सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने व्यक्ति अमेरिकाका जोडन रोमारियो हुन्।

उनले २०१० को मेमा १३ वर्ष १० महिना १० दिनको उमेरमा सगरमाथा आरोहण गरेका थिए। यसअघि सो कीर्तिमान नेपालकी १५ वर्षीया मिङ किपाले २२ मे, २००३ मा आरोहण गरेर कीर्तिमान राखेकी थिइन् । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने महिलाका रूपमा उनको कीर्तिमान अझै कायम छ।

नेपालकै बाबुछिरी शेर्पाले बिनाअक्सिजन २१ घन्टा सगरमाथाको चुचुरोमा बिताएर कीर्तिमान कायम गरेका हुन्। २९ अप्रिल, २००१ मा जीवन गुमाउनुपूर्व उनले १० पटक सगरमाथा आरोहण गरेका थिए। ८ मे, १९७८ मा अस्ट्रियाका पिटर हेबलर र इटालीका रेनहोल्ड मेसनरले पहिलो पटक बिनाअक्सिजन सगरमाथा आरोहण गरेका थिए । बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति भने आङरिता शेर्पा हुन्। उनले सन् १९८३ मा पहिलो पटक बिनाअक्सिजन सगरमाथा आरोहण गरेका हुन् ।

बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने पहिलो महिला भने न्युजिल्यान्डकी लायडा ब्रेडली हुन्। उनले १४ अक्टोबर, १९८८ मा सो सफलता पाएकी थिइन् । ५ असोज, २०७७ मा जीवन गुमाउनुपूर्व आङरिता शेर्पाले १० पटक बिनाअक्सिजन सगरमाथा आरोहण गरेका थिए । प्रतिकूल स्वास्थ्य अवस्थाका कारण उनले सन् १९९६ देखि कुनै आरोहण गरेका थिएनन् । उनलाई हिमचितुवाको नामले पनि चिनिन्थ्यो।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले सगरमाथाले बहादुरीमा नेपालीसँग प्रतिस्पर्धा नहुने जनाउँछन्। ‘पर्वतारोहणमा सुरुआतमा पश्चिमाहरूको चासो थियो । यसकारण उनीहरूका नाममा धेरै कीर्तिमान धेरै बने। हामी सुरुआतमा कामदारका रूपमा बढी सक्रिय भयौँ । पछिल्लो समय हामी आफैँ पर्वतारोहणमा सक्रिय भएका कारण हाम्रा नाममा धेरै कीर्तिमान बन्न थालेका छन्,’ शेर्पाले द नेपालटपसँग भने।

उनी अल्पाइन क्लाइम्बिङ (कसैको सहयोग नलिई गरिने आरोहण) नेपालीले मात्र गर्ने भएकाले बहादुरीमा नेपालीको अन्यसँग प्रतिस्पर्धा नहुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्