एमालेको अवरोधले संसद् बैठक स्थगित



काठमाडौं । नेकपा (एमाले)ले अवरोध गरेपछि संसद् बैठक स्थगित भएको छ। वेल घेराउ गरेर एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ न्यौपानले माफि नमागेसम्म संसद् चल्न नदिने भन्दै एमालेले संसद् बैठकमा विरोध जनाएको हो। शुक्रबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसदहरु आफ्नो आशनबाट उठेका थिए।

त्यसपछि सभामुख घिमिरेले एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए। गिरीले पशुपतिनाथको मन्दिरको जलहरीको विषयमा सत्ता पक्षका सांसदहरुले एमालेलाई आधारहीन आरोप लगाएको बताए। उक्त अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्ने गिरीको माग थियो। साथै सत्ता पक्षका सांसदले माफी माग्नुपर्ने पनि उनले अडान राखे।

जेठ १० गतेको संसद्मा न्यौपानेले पशुपतिनाथको मन्दिरमा सुनको जलप लगाउन पर्नेमा पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै दिएको अभिव्यक्तिप्रति एमालेले संसद्‌मा विरोध गरिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसबारे टुंगोमा नपुगेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्