ज्ञानेन्द्रको आस, नेताको डर



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राजनीतिक दलका नेताबीच समय–समयमा घोचपेच भइरहन्छ। ज्ञानेन्द्र शाह राजतन्त्र फर्किने आसमा देखिन्छन् भने दलका नेताहरू शाहको हरेक अभिव्यक्तिमा प्रतिक्रिया दिन पछि हट्दैनन्।

नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा सञ्चालित छ र यो व्यवस्थामा सबैलाई वाक स्वतन्त्रताको हक प्रत्याभूत गरिएको छ। तिनै नेताहरूले ल्याएको यो व्यवस्थामा ‘पूर्व’ भइसकेका राजाको सामान्य गतिविधि र अभिव्यक्तिमा किन प्रतिक्रिया जनाउँछन् भन्ने विषय मूल प्रश्न बनेको छ।

कतै नेताहरूलाई अझै पनि राजतन्त्र फकिर्ने डर त छैन ? होइन भने त्यति ठुलो संघर्ष र बलिदानले गरेको परिवर्तनमा किन सशंकित छन् नेताहरू ? के नेताहरू डराएकै हुन् ? यी यावत् प्रश्न अहिले दलका नेतातिर तेर्सिरहेको छ।

अर्कातर्फ नेताको डर र शंकाका बीच ज्ञानेन्द्र शाह पनि कुनै योजनामा त छैनन् ? भन्ने सोच्नका लागि उनका पछिल्ला गतिविधिले बाटो प्रशस्त पारेका छन् । यसरी हेर्दा नेताहरूको डर र ज्ञानेन्द्रको आसमा राजनीतिक दाउपेचको शृंखला चलिरहेको देखिन्छ।

शनिबार एक कार्यक्रममा त नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न वा नयाँ दल खोल्न सुझाव नै दिए। कारण हो–पछिल्लो समय शाहको बाक्लिँदै गएको भ्रमण र अभिव्यक्ति । उनको सक्रियताप्रति असन्तुष्टि जनाउँदै खनालले आफ्नो अभिव्यक्ति दिएका थिए ।

खनालको प्रतिक्रिया थियो, ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दै छन्। मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्छन्। अभिनन्दनका कुरा छन्। एक्सरसाइज त गर्नुस् । तर, हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि नेताहरूलाई नै लक्षित गर्दै शनिबार सुर्खेतमा आयोजना भएको नागरिक अभिनन्दन कार्यक्रममा भनेका थिए, ‘आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैका अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो।’ उनको यो अभिव्यक्ति नेताहरूतर्फ नै लक्षित गरिएको देखिन्छ ।

‘हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ–त्यहाँ नेपालीको यस्तै–यस्तै आवाज सुन्छु। त्यसैले अब कसरी जाने ?, के कस्तो विधि व्यवस्था अँगाल्ने ? र, हाम्रो गौरव गरिमालाई कसरी बचाउने ?,’ उनले भने, ‘अब सोचौँ, के गर्दा देशको राम्रो हुन्छ ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौँ ।’

यो त एउटा उदाहरण मात्र हो । हरेक महिनाजसो एउटा न एउटा नेताले शाहकै विषयमा केही न केही प्रतिक्रिया दिएकै हुन्छन् । नेताहरूको यस्तो व्यवहारलाई राजनीतिक विश्लेषक डम्बर खतिवडा भने अनावश्यक तिकडमका रूपमा व्याख्या गर्छन्।

‘देशको आवश्यकता एउटा छ, नेताहरूको ध्यान अर्कातिर छ । अनि देश कसरी विकास हुन्छ ?,’ उनी भन्छन्, ‘अर्थतन्त्र उकास्ने उपायमा बहस छैन, भ्रष्टाचार निवारण गर्ने विषयमा सहमति गर्नु छैन । इतिहास बनेका राणा शासन र राजन्त्रलाई गाली गरेर मात्र हुन्छ ?’

विश्लेषक खतिवडा अहिलेका नेताहरू ज्ञानेन्द्रलाई फेरि पनि राजा बनाउने बाटोमा लागेको आरोप पनि लगाउँछन् । उनी भन्छन्, ‘देश र जनताको आवश्यकतालाई अहिलेका नेताहरूले विचार नगर्दा ज्ञानेन्द्र शाहलाई सलबलाउने अवसर मिलेको हो । त्यसैले ज्ञानेन्द्रलाई गाली गर्नुभन्दा पनि पहिला नेताहरू नै सच्चिन आवश्यक छ।’

जनतामा निराशा छाइरहेको यो परिस्थितिमा ज्ञानेन्द्र पनि आफ्नो सक्रियता बढाइरहेका छन् । उनमा पनि केही आस पक्कै देखिन्छ। हरेक महिनाजसो नागरिक सम्मानका नाममा जनताबीच गएर आफ्नो कुरा राख्ने र राजतन्त्र नै ठिक थियो कि ! भन्ने सोच्न बाध्य बनाउने उनको पछिल्ला अभिव्यक्तिहरूले पनि यसलाई पुष्टि गर्छ। राजतन्त्र फर्किने आसमै राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पनि उनले राजनीतिक हस्तक्षेप गर्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा जिताएका थिए ।

‘राजा थिए, एक्कासि प्रजा भए । फेरि पनि राजा हुन पाउँछु कि भन्ने आस उनीमा हुनु स्वाभाविक कुरा हो । यसलाई कुनै ठुलो इस्यू बनाउनुपर्छ जस्तो मलाई लाग्दैन,’ एक नेता बताउँछन्, ‘शाहको विषयमा यति ठुलो बहस गर्नु भनेको आफैँले ल्याएको गणतन्त्रमै विश्वास नगर्नु हो। उनी स्वतन्त्र छन्, उनको अभिव्यक्ति पनि स्वतन्त्र हो । किन आपत्ति जनाउनु ?’

प्रतिक्रिया दिनुहोस्