दरबार हत्याकाण्ड : रहस्यमै बित्यो २२ वर्ष



काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । १९ जेठ, २०५८ सालको शुक्रबार साँझ तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी भएको हत्याकाण्डको सत्यता भने अझै गर्भमै छ। संयोग नै हो– आज दरबार हत्याकाण्डको २२ वर्ष पूरा हुँदै गर्दा शुक्रबार नै परेको छ।

राजा वीरेन्द्रको वंश नै नाश हुने गरी भएको यो हत्याकाण्डमा राजपरिवारका १० सदस्यको हत्या भएको थियो। जसमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन, धीरेन्द्र शाह, राजकुमारी शान्ति, राजकुमारी श्रद्धा, राजकुमारी जयन्ती र श्रद्धाका पति कुमारखड्गविक्रम शाह र युवराज दीपेन्द्र थिए। पछि राजा बनेका ज्ञानेन्द्रले तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए । त्यसको १ हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गरेको थियो । जसमा दोषी देखाइएको थियो– मृत्यु भइसकेका दीपेन्द्रलाई।

प्रतिवेदनमा लागुपदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र नै मुख्य दोषी रहेको निष्कर्ष निकालिएको थियो । साथै प्रतिवेदनमा दीपेन्द्रले सबैलाई गोली हानी मारेको र त्यसपछि आफैँमाथि गोली प्रहार गरेको उल्लेख थियो । तर, यसलाई अहिलेसम्म कसैले पनि विश्वास गरेका छैनन् । बेलाबेलामा सरकारी तवरबाटै यसको छानबिनको माग उठ्ने गरे पनि कुनै ठोस पहल भने कसैले चालेको देखिँदैन।

तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले २०७३ सालमा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए। त्यतिबेला यो प्रस्ताव मन्त्रिपरिषद्सम्म पुगेको भए पनि पछि त्यसै सेलायो । गत १६ जेठमा पनि प्रधानमन्त्री प्रचण्डले त्यो विषय फेरि उठाएका छन्।

उनले दरबार हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउनुपर्छ भन्दै सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । तर, २२ वर्षसम्म कुनै पनि सरकारले खासै चासो नदिएको यो विषयमा अब, केही होला भन्नेमा आमनागरिकदेखि नेताहरू नै विश्वस्त देखिँदैनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् धवलशमशेर राणा आजको दिनलाई नेपाली इतिहासमा घटेको एउटा दुःखद् दिनका रूपमा सम्झन्छन्।

१९ जेठलाई कालो दिनको रूपमा व्याख्या गर्न रुचाउने उनी घटनाको सत्यता बाहिर आउन नसकेकामा भने दुःख व्यक्त गछन् । उनी भन्छन्– ‘तत्कालीन घटनामा उपस्थित भएका र ज्यान जोगाउन सफल भएका ११ जना अहिलेसम्म हुँदाहुँदै पनि सत्यता उजागर हुन नसक्नु दुःखको कुरा हो। तर, दरबार हत्याकाण्डलाई रहस्यमय भनेर गरिने व्याख्याप्रति भने उनको फरक मत छ।

छानबिन हुन नसक्दा रहस्य जस्तो मात्रै देखिएको उनको तर्क छ । उनी भन्छन्, ‘घटनाका प्रत्यक्षदर्शीहरू अझै जीवित छन्। सरकारले उनीहरूसँग सोध्ने र सत्य कुरालाई बाहिर ल्याउन कुनै प्रयत्न गरेको छैन । अब अनुसन्धान नै नगरीकन रहस्यमय भन्दै हिँड्नु बुझ पचाएको मात्र हो।’

अझै दबिएको छैन राजतन्त्रको आवाज !

दरबार हत्याकाण्डको २२ वर्ष र राजतन्त्र फालिएको १५ वर्ष पूरा भए पनि राजतन्त्रको पक्षमा अहिले पनि आवाज घन्किरहेको छ। राजतन्त्रको पक्षमा सुनिने सामान्य आवाज अहिले दिनप्रतिदिन झन बुलन्द हुँदै गएको छ। निर्विकल्प भन्दै ल्याइएको गणतन्त्रमा अहिले ठुलै जमात राजतन्त्र नै विकल्प हो भन्दै सदनदेखि सडकसम्म उत्रिएका छन्।

राप्रपाका सांसद् राणा पनि अहिलेको सन्दर्भमा राजतन्त्र नै विकल्प भएको बताउँछन्। ‘गणतन्त्र र नेताहरूको असफलताले नै अहिले राजतन्त्रको माग भइरहेको छ। नेपालको माटोमा गणतन्त्र नफापेको अहिले देखिएको राजनीतिक परिदृश्यहरूले प्रष्ट पारेकै विषय हो,’ राणा भन्छन्, ‘अहिलेको माग भनेको संवैधानिक राजतन्त्र हो । जनताले पनि त्यही चाहेका छन् । हामी त्यो चाहना पूरा गरेरै छाड्छौँ ।’

उता, पूर्वराजा ज्ञानेन्द्रको बढ्दो सक्रियताले पनि यसतर्फ संकेत गरिरहेको छ। पछिल्ला दिन नागरिक अभिनन्दनको नाममा देशको कुना–कुना धाउँदै गरेका उनको पछाडि जमात पनि बाक्लिँदै गएको देखिन्छ । राप्रपा संसद्मा बलियो हुँदै जानु र ज्ञानेन्द्र आफैँ सक्रिय हुनुले गणतन्त्रको १५ वर्षपछि पनि राजतन्त्रको आवाज अझै गुञ्जिरहेको छ।

अधिकांश नेताले यसलाई सामान्य रूपमा लिएका छन्। तर, केही नेता भने समयको माग र जनताको आवाजका अगाडि कसैको केही नलाग्ने बताउँछन्। ‘अब राजतन्त्र फर्कनै सक्दैन’ भन्ने नेताहरूको सिद्धान्त सत्य नभएको एक पूर्वसांसद् बताउँछन्। ‘जनताले चाहे भने जे पनि हुन्छ । राणा शासन जनताकै चाहनाले समाप्त भएको हो, राजतन्त्र पनि फ्याँकिएको हो। अब गणतन्त्र चाहिँ रहन्छ भन्ने के ग्यारेन्टी ?’ उनी आफ्नो व्यक्तिगत धारणा यसरी राख्छन्।

प्रतिवेदनअनुसार यसरी भएको थियो हत्या ?

राजदरबारमा घटेको घटनाको यथार्थ विवरण ल्याउन भन्दै तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा राजा बनेका ज्ञानेन्द्र शाहले २२ जेठमा १ उच्चस्तरीय समिति गठन गरेका थिए । सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो । तर, नेपाल समितिमा बस्न मानेनन् । पछि उपाध्याय र रानाभाट मात्र उक्त समितिमा रहे । २ सदस्यीय समितिले ३२ जेठमा आफ्नो छानबिन प्रतिवेदन बुझाएको थियो ।

समितिले बुझाएको प्रतिवेदनको तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख गरिएको थियो । तर, त्यसमा आमनागरिकले भने अहिलेसम्म विश्वास गरेका छैनन् । प्रतिवेदनको ११ नम्बर बुँदामा हत्याकाण्ड कसरी भयो भन्ने कुराको व्याख्या गरिएको छ।

उक्त बुँदामा भनिएको छ, ‘श्री ५ युवराजाधिराज सैनिक कम्ब्याट पोसाकमा बिलियार्ड कोठामा प्रवेश गरिबक्सी कालो रङको बन्दुकद्वारा कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरेपछि तत्काल बिलियार्ड टेबुलको पूर्व छेउमा उभिएर अरूसँग कुरा गरिबक्सेको अवस्थामा श्री ५ महाराजाधिराजलाई भटटट फायर गरी पछाडि सर्दै बिलियार्ड कोठाबाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तरतर्फ झ्याङ नजिक १२ बोरको बन्दुक फ्याँकी पुनः भित्र बिलियार्ड कोठामा प्रवेश गरी बत्ती र टेलिस्कोपसहितको राइफल सोझ्याउँदै आएर भटटट पार्दै पुनः श्री ५ महाराजाधिराज एवं कुमार गोरख शम्शेर राणा, श्री धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाह समेतलाई फायरिङ गरी पछाडि सर्दै ढोकामा पुगी पुनः अगाडि बढेर तेस्रो पटक श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह र श्री ५ शाहज्यादी जयन्ती शाहलगायत अन्यलाई लाग्ने गरी जथाभावी परररर फायरिङ गरी श्री ५ युवराजाधिराज बिलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगैँचातर्फ पछाडि सर्दै गइबक्सेको भन्ने व्यहोरा घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रवि शम्शेर, डा. राजीव शाही, महेश्वरकुमार सिंह समेतको भनाइ रहेको छ ।’

त्यस्तै, प्रतिवेदनको तेस्रो खण्डको १५औँ बुँदामा उल्लेख भएको कुरालाई हेर्ने हो भने युवराज दीपेन्द्र आफैँ घाइते भएर ढलेका थिए । उक्त बुँदामा भनिएको छ, ‘श्री ५ युवराजाधिराज राज हुने त्रिभुवन सदन अगाडिको बगैँचाको स–साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वारघ्वार आवाज निकालिरहेको अवस्थामा श्री ५ युवराजाधिराजलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पाश्र्ववर्तीसमेतले समितिसमक्ष जानकारी गराएको देखिन्छ ‍।’

प्रतिवेदनको ५ देखि ९ नम्बरको बुँदासम्म हत्याकाण्ड हुनुपूर्वको घटनाका बारेमा उल्लेख छ । जसमा युवराज दीपेन्द्रले देवयानी राणासँग राति ८ः१२ देखि ८ः३९ बजेसम्म पटक–पटक टेलिफोनमा गफ गरेको विषय जोडिएको छ। यसरी छानबिन समितिको प्रतिवेदनमा युवराज दीपेन्द्र र देवयानी राणासँगको सम्बन्ध र युवराजबाटै हत्याकाण्ड भएको पुष्टि गरेको थियो । यही विषयलाई नागरिकले अहिलेसम्म विश्वास गर्न सकेका छैनन् ‍।

प्रतिक्रिया दिनुहोस्