नेपालमा हिन्दु र बौद्ध धर्म मान्नेको सङ्ख्या घटिरहँदा, क्रिश्चियन मान्नेहरूको सङ्ख्या बढ्दै 



काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्याङ्क शुक्रबार सार्वजनिक गरिएको छ । जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरूको बसोबास रहेको पाइएको छ । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ

जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरूमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले धर्म हिन्दु मान्ने गरेका छन् ।

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

क्रिश्चियन बढ्यो

राष्ट्रिय जनगणना – २०६८ अनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरू थिए । उनीहरूको सङ्ख्या थोरै घटेको पाइएको छ । जनगणना २०७८ अनुसार हिन्दु ०.११ र बौद्ध धर्मावलम्बी ०.७९ प्रतिशत घटेका छन् ।

इस्लाम, किराँतसँगै क्रिश्चियन धर्म मान्नेहरूको सङ्ख्या भने थोरै बढेको छ । जनगणना २०६८ अनुसार इस्लाम धर्म मान्नेहरू ४.४ प्रतिशत थिए । यो ०.६९ बढेर ५.०९ प्रतिशत पुगेको छ ।

किरात धर्म मान्नेहरूको सङ्ख्या ०.०७ प्रतिशत बढेको छ । २०६८ मा ३.१ प्रतिशत रहेको किराँत धर्मावलम्बीहरूको सङ्ख्या यो पटक ३.१७ प्रतिशत पुगेको छ ।

क्रिश्चियन धर्म मान्नेहरूको सङ्ख्या ०.३६ प्रतिशत बढेको छ । २०६८ मा १.४ थियो, जुन यो पटक बढेर १.७६ पुगेको छ ।यस्तै प्रकृति, जैन र शिख धर्म मान्नेहरूको सङ्ख्या केही कम हुँदा बोन धर्मावलम्बीको सङ्ख्या भने थोरै थपिएको छ ।

धर्म जम्मा प्रतिशत पुरूष महिला
हिन्दु २३६७७७४४ ८१.१९ ११५८७५२९  

१२०९०२१५

बौद्ध २३९३५४९ ८.२१ ११५९७९० १२३३७५९
स्लाम १४८३०६६ ५.०९ ७३२००६ ७५१०६०
किराँत ९२४२०४ ३.१७ ४५११९३ ४७३०११
क्रिस्चियन ५१२३१३ १.७६ २४०२०६ २७२१०७
प्रकृति १०२०४८ ०.३५ ४८५२५ ५३५२१
बोन ६७२२३ ०.२३ ३१९६८ ३५२५५
जैन २३९८ ०.०१ १२३६ ११५९
बहाइ ५३७ ०.०० २३४ ३०३
शिख १४९६ ०.०१ ८५९ ६३७
जम्मा २,९१,६४,५७८ १०० १,४२,५३,५५१ १,४९,११,०२७
प्रतिक्रिया दिनुहोस्