नेपालको आशा बक्सिङ



काठमाडौं । नेपालले २३ सेप्टेम्बरमा सुरु हुने १९औँ एसियाली खेलकुदमा तेक्वान्दो, कराँते र बक्सिङलाई पदक जित्ने सबैभन्दा बढी सम्भावना भएको खेलको सूचीमा राखेको छ।

‘विगतको परिणाम र नेपालको स्तर हेर्दा तेक्वान्दो, कराँते र बक्सिङमा हामी धेरै आशावादी छौँ,’ राष्ट्रिय टिम तयारी समितिका संयोजक महेन्द्र राईले भने । उनले यस्तो दाबी गरे पनि नेपालको कमजोर तयारी, आन्तरिक विवाद र खेलाडी पलायनका कारण तेक्वान्दो र कराँतेको अवस्था सहज भने छैन।

तुलनात्मक रूपमा बक्सिङमा अझै नेपालले आशा गर्न सकिने ठाउँ देखिएको छ। ‘विगत केही वर्षदेखि प्रदर्शनमा देखिएको एकरूपता हेर्दा सुष्मा तामाङ र भूपेन्द्र थापा मगरप्रति म बढी आशावादी छु। यसको मतलब अन्य पनि कमजोर नै होइनन्,’ प्रशिक्षण टोलीको नेतृत्व गरिरहेका प्रकाश थापाले भने।

थापा र राईले दाबी गरे पनि नेपालको तयारी भने फितलो छ । कराँतेको अन्तिम छनोट त भएको छ। तर, खेल विवादमै छ । अन्य खेलको अन्तिम छनोट हुन बाँकी छ । आगामी असारमा अन्तिम छनोट सकेर मात्र क्लोज क्याम्प राख्ने तयारी राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छ । राखेपको तयारी, खेलाडीको विदेश पलायन र आन्तरिक विवादका कारण तेक्वान्दो र कराँतेको तुलनामा बक्सिङमा भने अझै आशा गर्ने स्थान छ।

नेपालले हालसम्म एसियाडका ४ खेलमा पदक जितेको छ। तेक्वान्दो, बक्सिङ, कराँते र प्याराग्लाइडिङले विगतमा नेपाललाई पदक दिलाए पनि अहिले प्याराग्लाइडिङ समावेश छैन। विगतमा पदक दिलाउन सफल तेक्वान्दो र कराँतेमा विवाद मात्र चर्किएको छैन, धेरै खेलाडी विदेश पलायन पनि भएका छन् ।

१३औँ दक्षिण एसियाली खेलकुदका पदक विजेता ३४ जनामध्ये १३ जना तेक्वान्दो खेलाडी विदेश पलायन भइसकेका छन्। विदेश पलायन हुनेमा लामो समय राष्ट्रिय टोलीमा प्रभाव जमाएका तथा नेपालमै फरक फरक तौल समूहमा स्वर्ण पदक जितेका सक्षम कार्कीलगायत छन्। सक्षम साग स्वर्ण पदकधारी हुन् ।

१३औँ सागमा स्वर्ण पदक विजेता पार्वती गुरुङ, सञ्जिला तिमल्सिना, संगीता बस्याल र भूपेन श्रेष्ठ विदेशमा छन् । सोही साग खेलमा रजत पदक जितेका निमा गुरुङ, अप्सरा कार्की, कृष्णबहादुर तामाङ, किरणबहादुर आले र मनिता शाही पनि विदेशमा छन्। सोही साग खेलमा कास्य पदक जितेका मनोज मल्ल, ज्ञानेन्द्र हमाल र निश्चलमान श्रेष्ठ पनि विदेशमा छन्।

१३औँ सागमा सबैभन्दा धेरै सफलता दिलाउने मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठसँग संघ पूर्वाग्रही भएपछि तेक्वान्दोको राष्ट्रिय टोलीमा त्यसको असर परेको थियो। नेपाली तेक्वान्दोको खस्केको साख उकास्ने क्रममा १३ औँ साग खेलमा प्रशिक्षणको जिम्मेवारी पाएका श्रेष्ठमात्र होइन, घरेलु प्रतियोगिताका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा धेरै सफलता दिलाउने संगीना वैद्य पनि अहिले प्रशिक्षण टोलीमा छैनन् ।

नेपाली तेक्वान्दोमा संगीनाले नेपाल आर्मी क्लबलाई सबैभन्दा धेरै पटक राष्ट्रिय च्याम्पियन बनाएर कीर्तिमान बनाएकी थिइन् । नवीन श्रेष्ठले सञ्चालन गरेको कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादनले मात्र गत साग खेलमा ३ स्वर्ण पदक जितेको थियो । राष्ट्रिय टोलीमा नवीन र संगीना सम्मिलित प्रशिक्षण टोली स्वर्णिम मानिए पनि अहिले दुवै जना छैनन् ।

पुम्से विधामा उत्कृष्ट ठहरिएको र नेपाली तेक्वान्दोको पुम्से विधामा पायोनियर मानिएका नोर्बु लामा र हिरा थापा पनि अहिलेको प्रशिक्षण टोलीमा छैनन्। ‘यसलाई शक्तिमा हुँदा आफ्ना नजिककालाई मात्र च्याप्नुपर्छ भन्ने नेपाली संस्कृति भनेर बुझौँ न,’ नेपाल तेक्वान्दो संघप्रति गुनासो पोख्दै नोर्बुले भने ।

ओलम्पिक स्कलरसिप कार्यक्रमअन्तर्गतको रकम संघले खेलाडीलाई हस्तान्तरण नगरेको तथा ओलम्पिक स्कलरसिप कार्यक्रममा ओलम्पिक वरीयतालाई बेवास्ता गर्दै आफू अनुकूल सिफारिस गरिएको भन्दै संघविरुद्ध आवाज उठाएपछि श्रेष्ठ र संघबीच विवाद बढेको थियो। यसै कारण २ वर्षदेखि श्रेष्ठलाई तेक्वान्दो संघले जिम्मेवारीबाट पन्छाउँदै आएको छ।

कराँतेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताको विवाद अझै बाँकी छ। अन्तर्राष्ट्रिय निकायको आधारित वेबसाइटमै पुरेन्द्रविक्रम लाखे नै अध्यक्ष छन्। उनकै नेतृत्वको महासंघलाई पत्र आउने गरेको छ।

यसै पत्रको आधारमा महासंघका उपाध्यक्ष ध्रुवविक्रम मल्लले आसन्न एसियाली सिनियर कराँते च्याम्पियनसिप र एसियाडमा लागि टोली सहभागी गराउने तयारी गरेका छन्। एसियाड टोली छनोट भइसकेको छ। कराँतेले पनि थुप्रै खेलाडी विदेश पलायनको पीडा भोगेको छ।

साग खेलका स्वर्ण पदकधारी नवीन रसाइलीलगायत खेलाडी विदेशमै छन्। राखेपले कराँतेलाई बढी प्राथमिकता दिए पनि खेलमा चुनौती अझ बढ्दो छ । चुनौतीको मुख्य कारण २ महासंघका खेलाडीमा रहेको अन्योल पनि हो।

प्रतिक्रिया दिनुहोस्