शीर्ष नेताका कारण समाजवादी मोर्चा घोषणा ढिलाइ



काठमाडौं । ४ दलबीच शुक्रबार ‘समाजवादी मोर्चा’ घोषणा गर्ने अन्तिम तयारी भए पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईबीचको भेटवार्ताले समाजवादी मोर्चा घोषणा कार्यक्रम पछि धकेलिएको छ।

लामो प्रयासपछि नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच समाजवादी मोर्चा घोषणा गर्ने चर्चा थियो। नेसपा र वामदेव गौतमले नेतृत्व गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई समेत समावेश गर्ने लक्ष्य राखेर मोर्चा घोषणा गर्न लागिएको थियो।

तर, मोर्चा घोषणा गर्ने तयारी अन्तिम चरणमा रहँदा भट्टराईले प्रचण्डलाई भेटेपछि भने घोषणा गर्ने कार्यक्रम रोकियो। तर, अहिलेसम्म मोर्चा घोषणाको कुनै मिति तय नभएको मोर्चाको अवधारणा दस्तावेज लेखन कार्यदलका सदस्यसमेत रहेका जसपाका नेता राजेन्द्र श्रेष्ठ बताउँछन् ।

उनका अनुसार दलका शीर्ष नेताहरूको व्यस्तताका कारण अहिले मोर्चा घोषणा हुने कार्यक्रम तय हुन सकेको छैन । ‘मोर्चा घोषणाको कार्यक्रम छिट्टै हुन्छ, शीर्ष नेताहरू काठमाडौँ आएपछि बैठक बसेर मिति घोषणा हुन्छ,’ श्रेष्ठले भने। उनका अनुसार मोर्चा घोषणा अन्तिम चरणमा पुगे पनि चर्चा भएको तिथिमिति गलत हो।

अहिले मोर्चा बनाएर जाने र भविष्यमा मोर्चालाई पार्टीमा परिणत गराउने उद्देश्य दलहरूले राखेका छन्। लामो उद्देश्य राखेका दलहरूले मोर्चा घोषणा गर्नुअघि कार्यदल बनाएर मस्यौदा तयार पारेका छन्। कार्यदलले तयार पारेको मस्यौदालाई माओवादीका कृष्णबहादुर महरा, एकीकृत समाजवादीका प्रवेश हमाल र जसपाका राजेन्द्र श्रेष्ठले अन्तिम रूप दिएका हुन् ।

नेकपा एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाको एकता २३ फागुन, २०७७ मा सर्वोच्चको फैसलाले भंग भएदेखि नै समाजवादी मोर्चाको पहल भएको थियो । गत ४ मंसिरको निर्वाचनअघि समाजवादी मोर्चा गठनको प्रयास भएको थियो । पटक–पटकको प्रयासका बाबजुद पनि सफल हुन सकेको थिएन । निर्वाचनपछि समेत मोर्चा बनाउने विषयमा नेताहरूबीच दर्जनौँ पटक छलफल भए । तर, परिमाण आएन।

तत्कालीन एमालेको माधव नेपाल समूह र जसपाका तत्कालीन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले मोर्चा बन्न नसकेकै कारण पार्टी गठन गरेका थिए । अहिले नेकपा समाजवादीले मोर्चामा सहभागी हुने निर्णय गरिसकेको छ। नेसपा पनि मोर्चामा सँगै जाने तयारी गरिरहेको छ। दलहरूले मोर्चा सहभागी हुने विषयमा पार्टीभित्र छलफल गरिरहेका छन्। नेकपा माओवादी मोर्चा घोषणाका लागि तयारी अवस्थामा छ।

संघीय शासन प्रणालीअनुरूपको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको सैद्धान्तिक मान्यता छ। संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता लगायत परिवर्तनका पक्षधरहरू मोर्चामा सहभागी हुन लागेको श्रेष्ठको दाबी छ। प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि मोर्चामार्फत् संघर्ष गर्ने श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार २०४६ पछिका परिवर्तनकारी शक्तिहरू मोर्चामा जोडिनेछन्।

मोर्चाको गठन विधि, सञ्चालन, निर्णय प्रक्रिया र मोर्चामा आबद्ध दलहरूको स्वायत्तताको विषयमा समेत दस्ताबेजमा स्पष्ट पारिएको श्रेष्ठले बताए। सामूहिक नेतृत्व र आलोपालो अध्यक्षता गर्ने विषयमा मोटामोटी सहमति भए पनि शीर्ष नेताहरूले यस विषयमा निर्णय गर्न बाँकी रहेको श्रेष्ठले बताए।

जसापका प्रवक्ता मनिष सुमन पार्टीभित्रको आन्तरिक र मोर्चामा सहभागी दलहरूबीचमा समेत केही निर्णयहरू बाँकी रहेको बताउँछन्। हतारमा निर्णय गरेर फुर्सदमा पश्चात्ताप गर्नुभन्दा पहिले नै सबैखाले विषयमा छलफल गर्नु उचित भएका कारण केही ढिलो भएको उनी बताउँछन् ।

तत्कालका लागि सत्ता सञ्चालनमा प्रभाव देखाउने र दीर्घकालीन रूपमा पार्टी एकतासम्मको लक्ष्य नेताहरूको छ । मोर्चा २७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति बन्नेछ। सरकारको स्थायित्व र गठन–विघटनमा मोर्चाबिना जटिल समीकरण हुने देखिन्छ । यसकारण पनि मोर्चामा सहभागी दलहरूबीच थप छलफल भइरहेको नेताहरू बताउँछन् ।

संसद्मा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । समाजवादी मोर्चा बने संसद् र सरकारमा मोर्चाको बार्गेनिङ पावर बढ्ने देखिन्छ । आलोपालो मोर्चाको अध्यक्षता गर्ने मोटामोटी सहमति भए पनि मोर्चा बनेपछि सरकारको नेतृत्व कसले र कसरी गर्ने भन्ने विषयमा दलहरूबीच ठोस छलफल नभएको माओवादीका नेताहरू बताउँछन् ।

सरकारमा सहभागिताको विषय र मोर्चाको नेतृत्व गर्ने विषयमा आउने विवाद र समस्याको विषयमा थप छलफल भइरहेको नेताहरूको दाबी छ। भविष्यमा पार्टी एकता गर्ने उद्देश्य राखेका मोर्चाका नेताहरूले पार्टी विलय नगराउने सार्वजनिक अभिव्यक्तिले यी विषयमा गम्भीर छलफल हुनुपर्ने नेताहरूको तर्क छ।

मोर्चामा सहभागी हुने निर्णय गरिसकेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मोर्चा बने पनि पार्टी विलय नहुने दाबी छ। बलियो कम्युनिस्ट शक्ति स्थापना गर्न, राजनीतिक स्थिरता कायम गर्न, शोषण, दमन, उत्पीडन, भेदभावविरुद्धका मुद्दामा समाजलाई सही दिशानिर्देश गर्न, कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन मोर्चा आवश्यक रहेको नेपालको दाबी छ।

प्रतिक्रिया दिनुहोस्