एमालेमा रावल ‘कमब्याक’को अन्त्य !



काठमाडौँ । सूर्य उदाउने पूर्वबाट आएका केपी शर्मा ओली र सूर्य अस्ताउने पश्चिमका भीम रावल देशकै केन्द्र भागमा पर्ने चितवनमा नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गरे । पार्टीभित्र अलोकप्रिय बन्दै गएको र पार्टीबाहिर लोकप्रिय भइरहेका रावलले ओलीसँग हार्ने निश्चित हुँदा पनि प्रतिस्पर्धा गरे ।

ओलीका राजनीतिक समकक्षी रावलसँग उक्त समयमा २ वटा मात्र विकल्प थिए–प्रतिस्पर्धा गर्ने वा ओलीको कार्यकर्ता बन्ने । महाधिवेशनमा रावलले प्रतिस्पर्धा रोजे । तर, महाधिवेशनपछि रावल राजनीतिबाट सूर्य अस्ताए जस्तै अस्ताउँदै गएका छन् ।

१०औँ महाधिवेशनमा आफूसँग टक्कर गरेका रावलका विकल्पमा ओलीले सुदूरपश्चिममा माओवादी केन्द्रबाट आएका लेखराज भट्टराई नेता बनाएका छन् । पार्टीको जिम्मेवारी मात्र होइन, ओलीले गत निर्वाचनमा रावललाई टिकटसमेत दिएनन् । फलस्वरूप रावलले एमालेको उम्मेदवारलाई हराएर एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीका उम्मेदवार शेरबहादुर कुँवरलाई जिताए ।

एमालेमै रहेको दाबी गर्ने रावल पार्टीको १०औँ महाधिवेशनयता पार्टी राजनीतिमा सक्रिय छैनन् । बरू पार्टीले चलाएको अभियानलाई भने बिथोल्ने गरी आफ्नो जिल्लामा गतिविधि गर्छन् । भर्खरै सम्पन्न मिसन ग्रास अभियान लिएर अछाम पुगेका एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी कार्यक्रममै झडपको अवस्था सिर्जना भएको थियो ।

रावलका समर्थकले होहल्ला गरेको उक्त कार्यक्रममा पौडेल प्रमुख अतिथि थिए । पौडेल पार्टीले रावलसँग वार्ता गर्न बनाएको ३ सदस्यीय कमिटीका संयोजकसमेत हुन् ।

रावल र ओलीको सम्बन्ध

रावल र ओलीको भेट २०३३ सालमा जेलमा भएको थियो । विद्यार्थी राजनीतिमा सक्रिय रावल जेल परेका बेला ओलीसँग जेलभित्रै पहिलो पटक भेटेका थिए । १४ वर्ष जेल जीवन बिताएका ओली हत्या आरोपमा जेलमा थिए ।

कुरा प्रष्ट राख्ने यी दुवै नेता २०५१ सालमा मनमोहन अधिकारी नेतृत्व सरकारका मन्त्रिपरिषद्का सदस्य थिए । उक्त समयमा ओली गृहमन्त्री र रावल पर्यटन राज्यमन्त्री बनेका थिए । यसअघि २०४७ सालमा झलनाथ खनाल कृषिमन्त्री हुँदा रावल खनालका स्वकीय सचिव बनिसकेका थिए ।

२०४४ सालमा जेलबाट छुटेर राजनीतिमा सक्रिय हुन थालेदेखि नै ओलीले सधैँ आफ्नो समूह निर्माणमा ध्यान दिन्थे । समूह नभई नेतृत्व पाउन नसकिने ओलीको धारणा थियो ।

२०५१ मा राज्यमन्त्री भएदेखि रावल त्यसपछि सधैँ माधव नेपालको समूहमा रहेर राजनीतिमा लागे । तर, पछिल्लो समय माओवादी केन्द्र र एमाले एकता भएर बनेको नेकपाको विभाजनपछि नेपालको नेतृत्वमा नयाँ पार्टी गठन भयो । रावल एमालेमै रहे ।

नेकपाभित्र विवाद सुरु भएदेखि रावल ओलीको खरो विरोधमा उत्रिएका थिए । सामान्यतया हरेक विषयमा खरो उत्रिने रावल नेकपा विवादको मुख्य पात्र ओलीलाई नै ठान्थे । नेपाललाई छाडेर एमालेमै बसेका रावललाई ओलीले महाधिवेशनदेखि भने उठ्नै नसक्ने गरी किनारा लगाइदिए ।

एमालेमा रावलको राजनीति अन्त्य

ओलीसँग प्रतिस्पर्धा गरेसँगै एमालेभित्र रावलको सक्रिय राजनीतिको करिब अन्त्य भएको छ । अध्यक्षमा पराजित भएपछि ओलीविरुद्ध धाराप्रवाह लागेका उनलाई पार्टीबाट ६ महिनाका लागि निलम्बनसमेत गरेको थियो । उक्त निलम्बनसँगै रावल अन्य पार्टीमा जाने एमाले नेतृत्वको आकलन थियो । तर, आजको मितिसम्म पनि रावलले आफू एमालेकै सदस्य भएको बताइरहेका छन् ।

रावल र माओवादीसहितको गठबन्धनको आडमा २०७४ को चुनावमा सुदूरपश्चिममा एमालेले प्रतिनिधिसभाका १६ क्षेत्रमध्ये ११ र प्रदेशसभाका ३२ मध्ये १७ क्षेत्रमा जितेको थियो । २०७९ मा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ३ गरेर ५ क्षेत्रमा मात्रै एमाले उम्मेदवार विजयी भए । रावलकै कारण यो क्षति भएको महसुस गरेको नेतृत्वले १० वैशाख, २०८० मा भएको उपचुनावअघि रावलसँग वार्ता गर्न उपाध्यक्ष पौडेल, सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्णबहादुर थापा रहेको कमिटी बनायो ।

उक्त कमिटीले अहिलेसम्म रावलसँग एक पटक मात्र वार्ता गरेको छ । पार्टी सचिव तथा वार्ता कमिटीका सदस्य भट्टले आफूहरूले रावलसँग एक पटक मात्र वार्ता गरेको बताए । द नेपालटपसँग कुरा गर्दै भट्टले भने, ‘हामीले उहाँसँग एक पटक वार्ता ग¥यौँ, उपाध्यक्षज्यूले नेतृत्वलाई रिपोर्ट गर्नुभयो होला ।’

नेकपा विभाजन हुँदा पार्टीबाट अलग भएका वामदेव गौतमलाई पार्टीभित्र ल्याउने प्रयास भइरहँदा रावलको विषयमा भने कसैले पार्टीभित्र आवाज निकाल्दैनन् । पार्टीभित्र ओली मात्र होइन, ओली पक्षका सबै नेता रावलको नाम उच्चारण गर्न चाहँदैनन् ।

रावलसँग थप वार्ता गर्ने विषयमा भने आफूलाई जानकारी नभएको भट्टको प्रतिक्रिया छ । उनले भने, ‘एक पटक भेट्यौँ, अरू भेटको विषयमा कुनै छलफल भएको छैन ।’ उनले रावललाई एमालेले सक्रिय गराउने कि नगराउने विषय नेतृत्वको भएको बताए । सुदूरपश्चिममा रावलका प्रतिस्पर्धी भट्ट नै हुन् ।

अध्यक्ष ओलीले नेकपाकालीन अवस्थामै रावललाई हटाएर सुदूरपश्चिमको इन्चार्ज भट्टलाई बनाएका थिए । रावल र ओलीको सम्बन्ध र भट्टको भनाइका अनुसार अब एमालेमा रावलको सक्रिय राजनीतिको लगभग अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्