२०८४ मा जोसँग मिले पनि काँग्रेस जित्दैन : प्रदीप पौडेल



काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिले पनि काँग्रेसले निर्वाचन नजित्ने बताएका छन् । शनिबार काठमाडौँको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौँ भने २०८४ को चुनावमा जो जो नयाँ आए पनि हामीलाई कसैले केही गर्न सक्दैन । सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौँ ।’

काँग्रेस जुन जुन सरकारमा छ त्यहाँ सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा काम गर्ने र नागरिकको पक्षमा काम गर्न चाहेको छ भन्ने सन्देश दिनु आवश्यक रहेको पौडेलको भनाइ रहेको छ । नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह  समेत गरे ।

उनले भने, ‘रिस उठ्छ लेख्नुहुन्छ, भोलिपल्ट मेट्नुहुन्छ । हामीले जान्न के प¥यो भने त्यो रातभरमा थुप्रैले स्क्रिन सर्ट गरेर राखिसक्छन् । हामी त अनि महत्वकांक्षी छौँ, आकांक्षा छ, चुनाव आउँछ, प्रतिस्पर्धामा उत्रिन्छौँ । यस्तो लेख्ने साथी पदका लागि आकांक्षा प्रस्तुत गर्नुहुन्छ, अर्कोले स्क्रिन सर्ट गरेर अर्को प्रतिस्पर्धीले देखाइदिन्छ, त्यसैले आफ्नै विरुद्ध प्रमाण जुटाउने काम नगरौँ, सकेसम्म पार्टीको पक्षमा, पार्टीका नेताको पक्षमा लेखौँ ।’

प्रतिक्रिया दिनुहोस्