गृहमन्त्रीको जवाफपछि एमालेको संसद् बैठक अवरुद्ध



काठमाडौँ । सुन तस्करी विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले बैठक अवरुद्ध गरेको छ ।

मङ्गलवार बसेको बैठकमा गृहमन्त्रीले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनबारे जवाफ नदिएको भन्दै उठेर एमाले सांसदहरूले नाराबाजी गरेका हुन् । एमालेको विरोधपछि सभामुख देवराज घिमिरेले भोलि बुधवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै एमालेले विरोध गरेको हो । गृहमन्त्रीले भनाई सके लगतै एमाले सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमाले सचेतक महेश बर्तौलालाई बोल्न समय दिएका थिए ।

बर्तौलाले गृहमन्त्रीले कुटिल तरिकाले प्रतिपक्ष दलले संसद् अवरोध गरेको आरोप लगाएको उल्लेख गर्दै सरकारकै कारण संसद् अवरुद्ध भएको दाबी गरे । उनले १५ असारमा बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सत्तापक्षकै कारण सूचना टाँस गरेर स्थगित भएको बताए । गृहमन्त्री श्रेष्ठले एमालेले उठाएको विषयवस्तुभन्दा ८० प्रतिशतभन्दा बढी राजनीतिक प्रवचन दिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्