नेपाललाई सुन तस्करीको ट्रान्जिट बनाइँदै



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई सुन तस्करीको ट्रान्जिट बनाइएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा सुन तस्करी प्रकरणबारे जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले अन्तर्देशीय अपराधीको संलग्नतामा नेपाललाई सुन तस्करीको ट्रान्जिट बनाउने, नेपालको सुरक्षा र अर्थतन्त्रमा गम्भीर असर पार्ने काम  भई रहेको बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा गठित छानबिन समितिले २०७० देखि ०७४ सम्म ७ हजार ९९९ किलो सुन नेपाल भित्रिएको देखाएको तर त्यसको पत्ता नलागेको, त्यसपछि ३३ किलो सुन प्रकरणमा पनि सुन बरामद हुन नसकेको श्रेष्ठले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अहिले पनि १५५ केजी ग्रस वेट भनिएको सुन मात्रै हो कि, सिपमेन्टको आधारमा यो भन्दा बढी आएको हुनुपर्छ भन्ने सामान्य आकलन छ । र सुन तस्करीको ट्रान्जिट नेपाललाई बनाइँदै छ। ट्रान्स नेशनल कनेक्सनसहित नेपाललाई ट्रान्जिट बनाउने र नेपालको अर्थतन्त्र र सुरक्षालाई धरासायी बनाउने सँगसँगै छिमेकी मित्र राष्ट«हरुलाई पनि नकारात्मक असर पुर्‍याउने काम भइरहेको देखिन्छ ।’ नेपालमा विगतदेखि नै सुन तस्करी भइरहेको भन्दै श्रेष्ठले तर विगतमा पनि थियो भनेर सरकार चुप लागेर नबसेको बताए ।

प्रतिक्रिया दिनुहोस्