पहिरोमा बगेकाे १४ घण्टापछि जीवितै उद्धार 



काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ मध्ये एक जना जीवित भेटिएका छन् । सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका १९ वर्षका पासाङ घिसिङ जीवित भेटिएका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए ।

पहिरोले घर बगाउँदा बेपत्ता घिसिङलाई १४ घण्टापछि घाइते अवस्थामा फेला पारिएको हो । घिसिङलाई पहिरोले बगाएको घरभन्दा निक्कै तल खोलामा फेला पारिएको हो ।

उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो । जसमा ५ जना अझै बेपत्ता छन् ।

स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी,  ज्वाइँ २५ वर्षीय जीवन पहरी,  नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी बेपत्ता रहेका छन् ।

अक्कलबहादुरकी श्रीमती शन्तमायाको भने पहिरोमा परेर मृत्यु भएको छ ।  घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्