चन्दा उठाउने नेकपा बहुमत दुई जना पक्राउ 



काठमाडौँ । दाङमा नेकपा बहुमत पार्टीको नाममा चन्दा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिवेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिक रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधवार (हिजो) साँझ ९ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट पक्राउ गरेको हो । उनीहरूले विगतदेखि नै विभिन्न ठाउँमा डरधाक धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएको प्रहरीको भनाइ रहेको छ । बुधवार साँझ पनि पार्टीको नाममा चन्दा उठाइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बिक र परियाले यसअघि ३ चैत २०७९ मा तुलसीपुर–६ रजौरा स्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन के।सी।लाई १० लाख चन्दा मागेका थिए । यस्तै साउन १८ गते कपुरकोटस्थित कालिका मा।वि।का शिक्षक बामदेव अधिकारीलाई ५ लाख, साउन २७ गते तुलसीपुर–१८ स्थित बेलझुण्डी माविकी शिक्षिका जानका बस्नेतलाई १ लाख, २१ चैत २०७९ मा तुलसीपुर–७ बुढागाउँ पर्सेनीका पूर्व शिक्षक इन्द्रबहादुर वलीलाई १ लाख रुपैयाँ उनीहरूले चन्दा माग गरेका थिए ।

उनीहरूले पत्र पठाउँदै चन्दा माग्ने गरेको प्रहरीले जनाएको छ । परियार र बिकको साथबाट प्रहरीले कम्युनिस्ट पार्टी बहुमतको नामको लेटरप्याड, स्ट्याम्प छाप, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको पत्र, मोबाइल, विभिन्न व्यक्तिको फोटो बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्