सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ गरेको जनाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

कालोसूचीमा रहेका उनीहरू विमानस्थल पुगेपछि अध्यागमन विभागले सीआईबीका अधिकृतहरूलाई जानकारी गराएको थियो । त्यसपछि विभागबाट बुझेर उनीहरूलाई पक्राउ पुर्जी थमाइएको एक जनाइएको छ ।

दुई चिनियाँ नागरिकको १४ साउनमा पक्राउ परेका बेल्जियन नागरिक दावा लामासँग सम्बन्ध देखिएको छ । उनले सञ्चालन गरेको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई अनुसन्धान अधिकृतहरूले पक्राउ गरेका थिए ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । लगत्तै ट्याक्सी चालक र भन्सार एजेन्ट पक्राउ परेका थिए ।

विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा सङ्गठित अपराधको कसुर आकर्षित हुने देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जिम्मा लगाएका थियो ।

अनुसन्धान अधिकृतहरूले यो प्रकरणमा यसअघि अर्का चिनियाँ नागरिक ज्यास्याङ लिनलाई पनि पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्