उपत्यकाका विभिन्न ठाउँबाट ५२ लाख ७३ हजार नक्कली नोट बरामद, ९ जना पक्राउ



काठमाडौँ । प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट करिब ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । प्रहरीले काठमाडौँको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो ।

प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौँ आउँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार  नक्कली रुपैयाँ बरामद गरेको हो ।

चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट राखेको अवस्थामा फेला पारेको हो ।

सोधपुछका क्रममा बसका चालक तथा सहचालकले प्रहरीलाई उक्त कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको बताए ।  त्यसकै आधारमा खोजतलास गर्दा गोङ्गबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोट बरामद भएको हो । सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ ।

प्रहरी टोलीले नक्कली रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-६ घर भई हाल काठमाडौँको मूल पानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी र सुनकोसी गाउँपालिका घर भई काठमाडौँको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्की पक्राउ परेका छन् ।

यस्तै, नवलपरासीको सराबल गाउँपालिका-१ घर भई हाल काठमाडौँ बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका-२ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौँको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २४ वर्षीय युवराज राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्