‘लडाकु शिविर घोटालाको पनि छानबिन हुनुपर्छ’ 



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको छानबिन हुनुपर्ने बताएका छन् ।

शुक्रबार बुटवलमा पार्टीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताएका हुन् ।

विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गर्ने आवश्यक रहेको बताएका हुन् ।

भट्टराईले आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरू खोल्ने गरिए पनि ठुला दलहरूबिच लाभका पदहरूमा भागबन्डा गरेर अनुसन्धान बिचमै सामसुम हुने गरेको बताए ।

 उनले भने, ‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठुला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ । अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।’

ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र खुसीसाथ बयान दिन जाने  भट्टराईको भनाइ रहेको छ ।

उनले भने, ‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौँ भन्दै आएको हुँ, ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु ।’

प्रतिक्रिया दिनुहोस्