गहभरि अाँशु



काठमाडौं : एक निडर युवाकाे शरीरमा चिटिक्क पारेर ढाका टोपी लगाएको तस्बिर । तस्बिरमा माला । त्‍यस अगाडि नेपालको राष्ट्रिय झण्डा । उपस्थित सबैको अनुहार मलिन थियाे । 

 

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड निवासकाे साेमबार बिहानकाे दृश्य हाे याे । अन्य दिनको तुलनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा यस्तै जमघट थियाे । त्याे जमघट अरु केही नभएर नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा स्व.प्रकाश दाहालकाे श्रद्धान्जलि सभा थियाे ।

ठूला पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्‍म लामबद्ध श्रद्धाञ्‍जलिका लागि उपस्थित थिए। स्मृति सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषद् पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा नेता महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापालगायत नेताले स्व. दाहालप्रति श्रद्धान्जलि व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले छोरा प्रकाश र २ वर्षअघि निधन भएकी छोरी ज्ञानुको नाममा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ स्थापना गरिएको घोषणा गरे। सबैले प्रकाशबारे आफ्‍ना धारणा राखे । दाहालले पुत्र वियोगको शोकलाई जसोतसो शक्तिमा बदल्न सक्षम भएको बताए। उनले भने, ‘प्रकाश उदीयमान युवा थिए। देशलाई उनको आवश्यकता थियो। तर अब घटना त भयो नै।’

बिरामी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली निको भएपछि सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। प्रधानमन्त्री ओलीले श्रद्धाञ्जलि सभामा संक्षिप्त सम्बोधन गर्दै देशका लागि राम्रो गरे प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुने बताएका थिए । उनले शोकलाई शक्तिमा बदलेर जीवनलाई गतिशील बनाई राख्न पनि दाहाल परिवारलाई आग्रह गरे ।

कार्यक्रममा भावविह्वल भएका अध्यक्ष दाहाल र उनकाे परिवारलाई प्रधानमन्त्री ओलीले मृत्यु फर्काउन वा सच्याउन नसकिने भन्दै  स्थिर हुन पटक पटक अाग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले स्वर्गीय प्रकाश दाहालको निधनबाट सिंगो पार्टी, देश र जनता अझै पीडामा रहेको बताए । त्यसलाई शक्तिमा बदलेर देश र जनताको सेवामा लागिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले प्रकाश दाहाललाई समझदार युवा नेताको रुपमा चित्रणसमेत गरे । 

श्रद्धाञ्‍जलि सभामा प्रकाशकी आमा सीता दाहाल पनि छोरालाई सम्झिएर रोइरहेकी थिइन्। सभामा प्रकाशबारे लेखिएको पुस्तकसमेत विमोचन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्