सभामुखलाई संसद्को अवरोध खुलाउन पहल गर्न प्रधानमन्त्रीको आग्रह 



काठमाडौँ । लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबिच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबिच छलफल भएको हो । छलफलमा प्रधानमन्त्री प्रचण्डले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए । उनले भने, ‘म  सदन खुलाउन भूमिका खेल्छु  । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

राजस्व अनुसन्धान विभागले ३ साउनमा सिनामंगलमा सुन बरामद गरेको थियो । साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार सङ्घीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको छ । सरकारले भने सरकारी निकाय र अङ्गले नै निष्पक्ष छानबिन गर्ने स्पष्ट पार्दै आएको छ ।

आजको भेटमा सभामुख घिमिरेले सदन नचल्नु  राम्रो नभएका भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सभामुख घिमिरेले भने, ‘ ‘माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायतका विषयमा माननीयले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्