धरानमा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको अपिल



काठमाडौँ । धरानमा केही दिन पहिले गोरु काटेर खाएको विषयलाई लिएर अहिले तनावकाे अवस्था बनेको छ । धरानका सबै राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन् । शुक्रवार बसेको सर्वदलीय बैठकले विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

सर्वदलीय बैठकले अपिलमामा  ‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्दै सबै जाती, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पुर्‍याउने गतिविधि नगरिदिनु हुन अनुरोध गर्दछौँ,’ भनिएको छ ।
यस्तै भदौ ९ गते आयोजना गर्न लागिएका पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गर्न पनि सबै पक्षलाई बैठकले अपिल गरेको छ । ‘परिस्थितिको गाम्भीर्ययतालाई मनन गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सद्भाव खलबलिने सामाग्रीहरू पोस्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा हार्दिक अपिल गर्दछौँ । साथै सम्बन्धित निकायलाई सामाजिक सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गर्दछौँ,’ अपिलमा भनिएको छ ।

अपिलमा एमाले, काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा, रास्वपा, राप्रपा,  नागरिक उन्मुक्ति पार्टी, नेससपा, राजमुपा, किखसपा, विवेकशील साझा पार्टीलगायतले हस्ताक्षर गरेका छन् ।

यसैबिच प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले पनि भदौ ९ गते धरानमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरू स्थगित गरेर सामाजिक सद्भाव कायम गर्न अनुरोध गरेको छ । सङ्घर्ष समितिमा आबद्ध विभिन्न पाँच जातीय संस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भदौ ९ गते हिन्दु धर्माबलम्बीहरु धरानमा सहभागी भई जनप्रदर्शन गर्ने भनी सामाजिक सञ्जालमा गरिएको आव्हान र अर्को पक्षद्वारा त्यसको प्रतिकार गर्ने भनी गरिएको प्रचारप्रसारले नेपालको बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय सद्भावलाई बिथोल्न सक्ने र जातीय तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भएकोले सबै पक्ष जिम्मेवार र संवेदनशील हुन अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्