नेपाल र भारत आज भिड्दै



काठमाडौँ । जारी एसिया कप अन्तर्गत नेपालले सोमबार भारतविरुद्ध खेल्दै छ । नेपालका लागि विश्व विजेता भारतसँगको भिडन्त  विशेष रूपमा हेरिएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजय बेहोरेपछि भारतविरुद्धको खेलमा नेपाल जित्नै पर्ने दावावमा रहेको छ । पहिलो पटक एसिया कप खेल्दै गरेको नेपालले चार दिनअघि पाकिस्तानविरुद्धको खेल २३८ रनको विशाल अन्तरले गुमाएको थियो । त्यो नतिजा नेपालका लागि लज्जास्पद हो ।

पाकिस्तानसँगको पराजयलाई नेपाली खेलाडीमा अनुभवको कमी मान्न सकिन्छ । भारतविरुद्ध खेल्दा नेपालले ब्याटिङमा निकै सुधार गर्नुपर्ने छ । नेपालले भारतको वरिष्ठ क्रिकेट टिमसँग पहिलो पटक सामना गर्न लागेको हो । यसलाई नेपालको क्रिकेट इतिहासकै सबैभन्दा ठुलो खेल पनि मानिएको छ । नेपाली क्रिकेटरले भारतका सुपरस्टार क्रिकेटरहरू विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या, जस्प्रित बुम्राह जस्ता खेलाडी जस्तै खेल्ने सपना देख्थे ।

नेपाली क्रिकेटरले भारतविरुद्ध कम्तीमा टक्करको खेल खेल्ने अपेक्षा नेपाली समर्थकले गरेका छन् । नेपाल र भारतबिच श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय मैदानमा खेल हुँदै छ । अङ्क तालिकामा भारत एक अङ्कमा छ भने नेपाल अङ्कविहीन छ । यस समूह ‘ए’ बाट पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । यस अर्थमा भोलिको खेल जित्ने टिमले सुपर फोरमा स्थान बनाउने छ । पालेकेलेमा सोमबार वर्षाको भविष्यवाणी पनि गरिएको छ । वर्षाले खेल रद्द भएमा भारत समूहमा दोस्रो स्थान हात पारी अगाडि बढ्ने छ भने नेपाल घर फर्किर्ने छ ।

प्रतिक्रिया दिनुहोस्