भारतसँग हारसँगै  समूह चरणबाटै बाहिरियो नेपाल



काठमाडौँ । नेपाल जारी एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । भारतसँगको हारसँगै नेपाल अङ्क विहीन हुँदै बाहिरिएको हो । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा कुनै विकेट  नगुमाई पुरा गरेको हो ।

भारतको जितमा रोहित शर्मा ५९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनमा अविजित रहे । शुभमन गिल ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रनमा अविजित रहे ।

नेपालले भारतीय कप्तान रोहित शर्मालाई १६ रनमा जीवनदान दिएको थियो । सातौँ ओभरको पाँचौँ बलमा सन्दीप लामिछानेलाई प्रहार गरेको सर्ट डिप स्क्वायर लेगमा गुलशन झालाई छाड्न पुगेका थिए ।नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । दुई घण्टा भन्दा बढी समय खेल हुन नसकेपछि २३ ओभरमा भारतले १ सय ४५ रनको विजयी लक्ष्य पाएको थियो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका ओपनर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन ।

अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले तल्लोक्रममा ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै ड्रिम सुरुवात दिलाएका थिए । तर त्यो सुरुवातलाई अन्य ब्याटरले निरन्तरता नदिदा विशाल योगफल बनाउन चुकेको थियो ।

तीव्र गतिका बलर शार्दुल ठाकुरको बलमा कुशल एज लाग्दै आउट हुन पुगेका थिए । स्पिनर रविन्द्र जडेजाको १६ औँ ओभरको अन्तिम बलमा भीम सार्की इनसाइड एज लाग्दै ७ रनमा बोल्ड आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको २० औँ ओभरको अन्तिम बलमा रोहित पौडेल एज लागेर रोहित शर्माबाट क्याच आउट हुन पुगे ।

जडेजाको २२ औँ ओभरको पाँचौँ बलमा कुशल मल्ल ठूलो सट खेल्ने धुनमा मिडअफमा २ रनमा क्याच आउट भएका थिए । कुशल मल्ल आउट हुँदा नेपाल १०१–४ को अवस्थामा पुगेको थियो ।

आसिफ तीव्र गतिका बलर मोहम्मद शिराजको ३० औँ ओभरको पाँचौँ बलमा टप एज लागेको बल कोहलीले सर्ट कभरमा एक हातले क्याच लिन पुगे । गुलशन झा शिराजको बलमा २३ रनमा कट बिहाइन्ड हुन पुगे । गुलशनले ३५ बलमा ३ चौका प्रहार गरे ।

३१।५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सातौँ विकेटका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रनको आँकडा पार गराएका थिए ।

दीपेन्द्र २५ बलमा ३ चौकासहित २९ रनमा हार्दिक पान्ड्याको बलमा एलबीडब्लू आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । करण केसी २ रनमा नटआउट रहे ।

भारतका लागि  रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ९.२ ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर, हार्दिक पान्ड्या र मोहम्मद शामीले एक एक विकेट लिए । वर्षाको कारण लगातार खेल प्रभावित बनेको थियो ।
समूह ए मा भारत २ खेलमा ३ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेको छ ।

पाकिस्तान २ खेलमा ३ अङ्कका साथ शीर्ष स्थानमा रहँदै सुपर फोरमा स्थान बनायो । समूह बी मा बङ्गलादेश सुपर फोरमा पुगेको छ । अफगानिस्तान र श्रीलङ्का मध्य एक टोली सुपर फोरमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्