शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान



महोत्तरी । बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी अस्पताल वा टाढाको सरकारी अस्पताल जानुपर्दा हैरानी भएको हो ।

यहाँको सेवा बन्द भएपछि शल्यक्रिया गरिनुपर्ने यस्ता महिलालाई चर्को शुल्क पर्ने निजी अस्पताल र टाढाको सरकारी अस्पताल जानुपर्ने बाध्यताले श्रमजीबि परिवारका लागि खर्चको जोहो गर्न कठिन भएको पीडित कल्पना विक बताउछिन् ।

अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो । साउनमा शल्यक्रियाबाट सुत्केरी गराइएकामध्ये १० जनामा सङ्क्रमण देखिएकाले तत्काल यो सेवा ९शल्यक्रिया० बन्द गरिएको अस्पताल प्रशासनले स्वीकार गरेको छ तर शल्यक्रिया गरिनपर्नेबाहेक अन्य सेवा भने यथावत रहेका अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णा महर्जन बताउछिन् ।

“शल्यक्रिया गरिएका सुत्केरी आमामा सङ्क्रमण देखिन थाल्यो, त्यसैले त्यसको निदानपछि फेरि सेवा सुरु गर्नेगरी तत्काललाई शल्यक्रिया रोकिएको हो”, उनले भनिन् । अस्पतालले गत साउनमा मात्रै दुई सयभन्दा बढी महिलालाई प्रसूति सेवा दिएकामा ८० जनाको शल्यक्रिया गरिएकोे थियो । शल्यक्रिया गरिएमध्येकै आठ÷दस जनामा सङ्क्रमण देखिएपछि भदौ १ गते नै यो सेवा रोकिएको डा महर्जनले बताइन् ।

शल्यक्रिया गरिएकामा सङ्क्रमण देखिन थालेपछि शल्यक्रिया कक्षको पानी र सुत्केरी सुताइने श्ययाको स्वाब परीक्षण गरिँदा जीवाणु भेटिएपछि यो सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ । शल्यक्रियाकक्ष साँघुरो कोठामा सञ्चालन गरिएको र सरसफाइमा राम्रो ध्यान नदिँदा सुत्केरीमा सङ्क्रमण बढेको अस्पताल नजिकका सर्वसाधारण बताउँछन् ।

“अस्पतालले एकपछि अर्को सेवा थप्दै लगेपछि अब सरकारी अस्पतालमै राम्रो उपचार पाइने आश जागेको थियो”, अस्पताल नजिककैकी एक गृहिणी भन्छिन्, “तर अस्पतालको भर देखिएन ।” साँघरो ठाउँमा आवश्यक सावधानी र सुरक्षाका उपाय अवलम्बनमा लापर्वाही गरिँदा नै सङ्क्रमण बढेको अस्पतालको सेवालाई नजिकबाट नियालिरहेका एक स्वास्थ्यकर्मीको भनाइ छ । अब यो सङ्क्रमण बढ्नाको कारण र यसमा भएको लापर्वाहीको खोजीनीति गरेर आवश्यक कारबाही नगर स्वास्थ्य शाखाले गर्नपर्ने सर्वसाधारणको टिप्पणी छ ।

यसैबीच अस्पताल प्रशासनले शल्यक्रियाकक्ष फराकिलो बनाएर सरसफाइ र आवश्यक मर्मतसम्भार गरिएको जनाएको छ । अब यो नयाँ कक्षको स्वाब परीक्षण गरेर सोको नतिजा ‘नेगेटिभ’ आए तत्काल सेवा सुरु गरिने अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्रीको भनाइ छ । “यो परीक्षणको नतिजा ‘नेगेटिभ’ आए त तत्काल शल्यक्रिया थालिन सक्छ, तर ‘पोजेटिभ’ आए अझै थप तयारी गरेरमात्र सेवा सुरु गर्न पर्छ”, उनी भन्छन् ।

निजी अस्पताल सञ्चालकसँगको मिलोमतोमा जानाजान यस अस्पतालमा प्रसूतिका लागि शल्यक्रिया गरिँदा लापर्वाही गरिएको हुनसक्नेसम्मको लख काट्ने सर्वसाधारण पनि भेटिएका छन् ।

सुत्केरी सेवाका लागि मधेस प्रदेशमै बर्दिबास अस्पताल कहलिएको थियो । अस्पतालको सेवाबारे सकारात्मक सन्देश प्रवाह हुँदा यहाँ जिल्लाकै तल्लो भेगसम्मका र सर्लाही, धनुषा र सिन्धुलीसम्मका गर्भवती महिला जाँच र सुत्केरी सेवा लिन आउने गरेका थिए । अस्पतालको सेवाबारे बर्दिबास नगर नेतृत्वले सुविधा र नियमित अनुगमन बढाउन पर्ने स्थानीय सेवाग्राही बताउँछन् । आवश्यक पूर्वतयारी गरेर चाँडै यो सेवा सञ्चालनमा ल्याउन सर्वसाधारणले नगर नेतृत्वसँग माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्