किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै



काठमाडौँ । किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सात वटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेशन’का रूपमा दिइन थालिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’को उद्घाटन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गर्नेछन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइन थालिएको जानकारी दिए । उनका अनुसार छ प्रदेशका छ वटा अस्पतालमा र बिहीबार कोशी प्रदेशको कोशी अस्पतालबाट किशोरीलाई एचपिभी खोप दिइने बताए । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई दिइने छ ।

आज मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ । खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।

आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । पहिलो मात्रा जहाँ लगाएको हो त्यही नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो ।

महाशाखाका निर्देशक डा विवेककुमार लालले विश्व स्वास्थ्य सङ्गठनले पनि प्रमाणीकरण गरेको एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए । यसअघि सरकारले सन् २०१६-१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्ग को क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२० को प्रतिवेदनअनुसार दुई हजार दुई सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ -६६ दशमलव पाँच प्रतिशत० को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्