बङ्गलादेशसँग भारत  ६ रनले पराजित



काठमाडौँ । एसीसी एसिया कपको अन्तिम सुपर फोर खेलमा बङ्गलादेशले भारतलाई पराजित गरेको छ । श्रीलंकको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भारत ६ रनले पराजित भएको हो ।

बङ्गलादेशले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २ सय ५९ रन बनाएर अलआउट भएको हो ।

भारतका लागि ओपनर शुभमन गिलले १ सय ३३ बलमा ८ चौका र ५ छक्काको सहयोगमा १ सय २१ रनको शतकिय पारी खेले । अक्षर पटेलले ३४ बलमा ४२ तथा सुर्यकुमार यादवले ३४ बलमा २६ रन बनाए ।

बङ्गलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २/२ विकेट लिए । त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो ।

बङ्गलादेशका लागि कप्तान शाकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

टोहिद हृदयले ८१ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।  नसुम अहमदले ४५ बलमा ४४ तथा मेहदी शसनले २३ बलमा २९ रन बनाए ।

भारतका लागि शार्दुल ठाकुरले ३ तथा मोहम्मद सामीले २ विकेट लिए । हारका बाबजुत भारत विजेताको रूपमा फाइनल पुगेको छ । बिहीबार पाकिस्तानलाई पराजित गरी श्रीलङ्काले फाइनलमा स्थान बनाएको छ । भारतले उपाधिका लागि आइतबार घरेलु टोली श्रीलंकासॅंग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्