उपाधिको लागि भारत र श्रीलंका भिड्दै



काठमाडौँ । एसिया कप २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ :१५ मा कोलोम्बोमा सुरु हुनेछ । भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि जित्न चाहन्छ । घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि जित्ने सोचमा हुनेछ ।

भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रीलंका र भारतको सुपर फोरमा ४-४ अंक थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो ।

भारत आठौं र श्रीलंका सातौं पटक एसिया कप जित्ने सोचमा हुनेछन् । श्रीलंकाले २०२२ मा टि२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए । भारतको रोहित शर्मा र श्रीलंकाको शुभमन गिलले कप्तानी गर्नेछन् ।

स्पिनर दुनिथ वेलालागेले पाँच र चरिथ असलंकाले चार विकेट लिएपछि एक समय ८०–० को अवस्थाबाट भारत २ सय १३ रनमा अल आउट भएको थियो । स्पिनर दुनिथले सानदार प्रदर्शन गर्दै आएका छन् । भारतलाई उनले पुन निराश बनाउन सक्छन् । दुनिथ ब्याटिङ तल्लोक्रममा राम्रो गर्ने गर्दछन् ।

कुशल मेन्डिस, चरिथ असलंका र कुशल परेरा प्रमुख ब्याटर हुन् । कुशलले अफगानिस्तानविरुद्ध ९२, बंगलादेशविरुद्ध ५० र पाकिस्तानविरुद्ध ९१ रन बनाएका थिए । तेस्रो नम्बरका ब्याटर कुशल आक्रामक ब्याटिङको खुबी राख्ने गर्दछन्

उनको विकेट धेरै महत्वपूर्ण हुनेछ । चरिथ असलंकाले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । पाकिस्तानलाई हराउन उनले महत्वपूर्ण ४९ रन जोडेका थिए ।

अनुभवी ओपनर कुशल परेराले पाकिस्तानविरुद्ध मात्रै खेलेका थिए । आक्रामक सुरुवात दिलाएपनि उनी रन आउट हुन पुगेका थिए । सदिरा समाविक्रमा र पाथुम निसंकाबाट ठूलो इनिङ चाहन्छ ।

कप्तान दासुन शानकाको कप्तानी उत्कृष्ट छ । तर प्रदर्शन ब्याटिङमा छैन । फिनिसर शानकाबाट श्रीलंका फाइनलमा उत्कृष्ट प्रदर्शन चाहन्छ । शानकालाई उत्कृष्ट प्रदर्शनको लागि ब्यक्तिगत दबाब समेत हुनेछ ।

श्रीलंकाका स्पिनर महेश थिक्सेना चोटका कारण टोलीमा हुनेछैनन् । थिक्सेना नहुँदा श्रीलंकालाई केहि घाटा लाग्नेछ । उनको स्थानमा श्रीलंकाले स्पिन अलराउन्डर सेहान अर्चाचिगेलाई मौका दिने सम्भावना देखिन्छ । तीव्र गतिका बलरमा मथिसा पाथिराना र कसुन रजिथा हुनेछन् ।

उता भारतका ओपनर शुभमन गिल राम्रो लयमा छन् । युवा ब्याटर शुभमन गिलले बंगलादेशविरुद्ध १ सय २१ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेका थिएनन् । त्यसअघि पाकिस्तानसँग ५८ र नेपालसँग ६७ रन बनाएका थिए । ओपनर गिल र रोहित शर्मा दुबै राम्रो लयमा छन् । यी दुई ब्याटरको सुरुवातले पनि धेरै फरक पार्नेछ ।

भारतको ब्याटिङक्रम उत्कृष्ट छ । तेस्रो नम्बरमा विराट कोहली, चौथो नम्बरमा लोकेश राहुल, पाँचौं नम्बरमा ईशान किशन र छैटौं नम्बरमा हार्दिक पान्ड्या छन् । कोहली र राहुलले पाकिस्तानविरुद्ध शतक हानेका थिए । यी दुई खेलाडी क्रिजमा टिकेको खण्डमा भारतले सहजै विशाल योगफल बनाउन सक्छ ।

तर स्तरिय स्पिन आक्रामण सामु भारतीय ब्याटिङ चल्न सकेको छैन । बंगलादेशसँग हारको मुख्य कारण स्पिन आक्रामण खेल्न नसक्नु थियो । श्रीलंकाले त्यसको भरपूर्ण फाइदा उठाएपनि ब्याटिङ नचल्दा हार्न पुगेको थियो । भारतको स्पिन आक्रामण पनि उत्कृष्ट छ । रविन्द्र जडेजा र कुलदीप यादवको बलिङ खेल्न श्रीलंकाका ब्याटरलाई सहज हुनेछैन ।

जस्प्रित बुमराह भारतका प्रमुख हतियार हुन् । बुमराहबाट बच्न कसे श्रीलंकाले राम्रो योगफल बनाउन सक्छ । पछिल्ला पाँच भेटमा भारत चार खेलमा विजयी भएको छ । श्रीलंकाले ओडिआईमा भारतलाई २०२१ मा कोलोम्बोमानै हराएको थियो ।

श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०र९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्