नेपाली चलचित्रमा पहिलो पटक ‘भिडियो गेम’ स्टाइलमा निर्मित चलचित्र “बासेन्जी” यही असोज २६ गते प्रदर्शनमा आउँदै 



काठमाडौं । नेपाली चलचित्रमा पहिलो पटक ‘भिडियो गेम’ स्टाइलमा निर्मित चलचित्र  बासेन्जी  असोज २६ गते देखि प्रदर्शनमा  आउने भएको छ । भिडियो गेम पिफल्मा  प्रथम पुरुष (वा भनौँ आफ्नो आँखाले जे देखेको छ त्यही)र तृतीय पुरुष (वा भनौँ आफ्नो अगाडि जो छ त्यही) मा पात्रहरूलाई यता-उता गराएको छ । यो शैली सन् ९० को दशकदेखि नै भिडियो गेममा प्रचलनमा त आइसकेको छ । तर यही असोज २६ गते प्रदर्शन हुन लागेको चलचित्र “बासेन्जी” नेपाली चलचित्र वृत्तमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतीकरण हेर्न पाइनेछ ।

अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको “बासेन्जी” हरर जनरामा निर्माण गरिएको चलचित्र हो । चलचित्र “प्रवेश” पात्रको आँखाबाट र उसैलाई केन्द्रीय पात्र बनाई देखाइएको छ । प्रवेश पात्र पश्चिम नेपालबाट काठमाडौँ आएको छ, उसको बुवालाई कृषि विषयमा खोज पत्रकारिता गरेको निहुँमा बरखास्त गरिए पछि । यसै सिलशीलमा उसले आकाश पात्रलाई भेट्छ जसले आफ्नो मनमा उठेका आँधीलाई शान्त पार्न काठमाडौँ नजिकको गाउँमा जान सल्लाह दिन्छ । अनि सुरु हुन्छ डरलाग्दा, रौँ खडा गर्ने खालका घटनाको सिलसिला । यो नै “बासेन्जी” चलचित्रको मुख्य विषय हो । र यही “प्रवेश” पात्रको आँखाबाट प्रथम पुरुष र उसलाई हेर्नका लागि तृतीय पुरुष क्यामरा राखी चलचित्रको निर्माण गरिएको छ ।

यस अघि “म्याङ्गो पिक्कल” (आँपको अचार) नेपाली कथानक चलचित्र निर्देशन गरेका इयक स्कट क्लेमेन्ट नेपाली परिवेश र नेपाली जीवनबाट प्रभावित भई नेपालमा नै चलचित्र निर्देशन गर्ने धोको बोकेका चलचित्रकर्मी हुन् । “आँपको अचार” चलचित्र आफ्ना मित्रहरूसँगको सहकार्यमा निर्माण गरिएको चलचित्र पश्चात् गौरीशङ्कर इन्टरटेनमेन्टसँग आबद्ध सुरज मैनाली र गौरव बस्नेतसँग मिलेर क्लेमेन्टले “बासेन्जी” चलचित्रको लेखन कार्य गरेका हुन् । यो चलचित्रमा प्रवेशको भूमिकामा कलाकार असिम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । वरिष्ठ कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यो चलचित्रमा प्रमुख भूमिका रहेको छ ।

निर्देशक क्लेमेन्ट भन्छन्, “नेपाली चलचित्रमा यो यस्तो प्रयोग हो जुन हालसम्म गरिएकै छैन । हामीले प्रथम पुरुषको दृष्टिकोणका लागि टाउकोमा क्यामरा राख्ने विशेष उपकरण तयार पारेका थियौँ जसले पात्रको परिप्रेक्ष्यबाट उसको संसार देखाइन सकियोस् । त्यसै गरी तृतीय पुरुषको दृष्टिकोण देखाउनका लागि गिम्बल प्रयोग गरेका छौँ जसले पात्रलाई नजिकैबाट नियालेर वा उसको हाउ-भाउ नियालेर हेर्न सकियोस् । मलाई पूरा विश्वास छ – हामीले नेपाली दर्शकलाई केही नयाँ पस्किन पूर्ण सफल भएका छौँ ।“

प्रतिक्रिया दिनुहोस्