बेपत्ता विपिन जोशीको खोजीका लागि सरकारले थाल्यो अन्तर्राष्ट्रिय पहल



काठमाडौँ। इजरेलमा भएको हमास आक्रमणमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी छ । त्यसका लागि नेपाल सरकारले इजरेल सरकारसँग पहल गरिरहेको छ । उनको खोजीका लागि सरकार अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग माग गरेको छ। यसका लागि हमासलाई सहयोग गर्दै आएका देशहरूसँग छलफल थालिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश मन्त्रीसँग टेलिफोन कुरा गरेका छन् । कतारी विदेश मन्त्रीसँग टेलिफोन कुरा भएको विषयमा परराष्ट्र मन्त्रालयले केही जानकारी दिएको छैन । तर, कतारका सञ्चारमाध्यमहरूले नेपाल र कतारका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको उल्लेख गरेका छन्।

टेलिफोन सम्पर्कमा जोशीको खोजीका लागि गाजास्थित हमास समूहसँग पहल गरिदिन अनुरोध गरेको कतारी सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साउदले अरब देशरूसँग समेत जोशीको खोजीका लागि पहल भइरहेको बताएका थिए ।

गत शनिवार गाजास्थित हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएका छन् भने जोशी बेपत्ता छन् । उनी हमास समूहको नियन्त्रणमा रहेको आशङ्का गर्दै सरकारले सोही आधारमा पहल थालेको हो ।

प्रतिक्रिया दिनुहोस्