टी-२० विश्वकप छनोट : आज नेपाल र सिंगापुर भिड्दै



काठमाडौँ । सन् २०२४ मा आयोजना हुने आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठ वटा राष्ट्र सोमबारदेखि नेपालका दुई वटा रङ्गशालामा प्रतिस्पर्धा गर्दै छन् ।

छनोट प्रतियोगिताको पहिलो दिन आज सोमबार चार वटा खेल हुनेछन् । कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबिच खेल हुनेछ । खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र युएईबिच दोस्रो अर्को खेल हुनेछ ।

यसै गरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलाइने छ । प्रतियोगिता खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

यो प्रतियोगिताबाट दुई वटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । आइसिसी टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदै छ ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् ।

प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चार वटै टोलीले एक अर्कासँग एक९एक खेल खेल्नेछन् । त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता सँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेता सँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ ।

सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्