उपनिर्वाचनको मिति वैशाखमा तोक्न निर्वाचन आयोगको राय



उपनिर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई राय दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिलाई राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता र प्रतिनिधिसभा, प्रदेशसभाको १–१ तथा स्थानीय तहको रिक्त २४ पदको निर्वाचन वैशाखमा गर्न अनौपचारिक परामर्श दिइएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी छरिएर रहेका ७ वटा कानुनलाई एकीकृत गर्न बनेको विधेयकलाई आगामी सदनको अधिवेशनबाट पारित गरिदिन पनि आग्रह गरेका छन् ।

प्रस्तावित कानुनमा आवधिक निर्वाचनको मिति किटान गरिएको, निर्वाचनको मौन अवधि हटाएर मतदानको २४ घण्टाअघि प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको समितिलाई उनले जानकारी दिए । निर्वाचनमा राजनीतिक दलले सबै तहका निर्वाचनमा कम्तीमा ३३ प्रतिशत उम्मेदवार महिला उठाउनुपर्ने अनिवार्य व्यवस्था र भ्रष्टाचारको सजाय सम्बन्धी मुद्दा अदालतमा दायर भएका व्यक्तिका हकमा उम्मेदवार बन्न नपाउने प्रावधानका लागि विधेयकमा प्रस्ताव गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्