रुपन्देहीमा भारत सरकारको सहयोगमा निर्मित विद्यालयको उद्घाटन 



विद्यालयको उद्घाटन 

काठमाडौँ । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १.२५ करोड आर्थिक सहयोगमा रुपन्देही निर्माण गरिएको श्री पोखरभिण्डी माध्यमिक विद्यालयको उद्घाटन गरिएको छ ।

जिल्लाको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको मङ्सिर १० गते नेपालका उपराष्ट्रपति रामसहाय यादव र भारतीय राजदूतावास, काठमाडौँका कार्यवाहक राजदूत  प्रसन्न श्रीवास्तवको उपस्थितिमा औपचारिक उद्घाटन  गरिएको हो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । जिल्ला समन्वय समिति, रुपन्देहीमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपतिले नेपालका शैक्षिक तथा अन्य विविध क्षेत्रमा पूर्वाधार विकासका लागि भारत सरकारले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबिचको विकास साझेदारीले दुई देशका जनताबिचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन ठुलो योगदान गरेको बताए ।

भारतीय राजदूतावास, काठमाडौँका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवले यी परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण हिस्सा भएको बताए । साथै उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरूलाई समेत समेटेको बताए । उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरूप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए ।

श्री पोखरभिण्डी माध्यमिक विद्यालय सन् १९५९ मा स्थापना भएको हो । त्यसयता यस क्षेत्रका विद्यार्थीलाई कक्षा १० सम्मको शिक्षा दिँदै विद्यालयले राम्रो शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा करिब ५५५ छात्रा रहेका छन् ।

 सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् जसमा १२ वटा परियोजना रुपन्देहीमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १६० वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । रुपन्देही जिल्लालाई हालसम्म २९ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्