बझाङमा १४ किलो गाँजा सहित ३ जना पक्राउ



काठमाडौँ । बझाङमा १४किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खड्कासहित गोरखाको अजिरकोट गाउँपालिका-२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका-३ का ५५ वर्षीय राम गुरुङ रहेका प्रहरीले जनाएको छ ।

उनीहरूले खड्काको घरमा उद्योग नै खोलेर अवैध रूपमा गाँजाको कारोबार गर्दै आएको खुलेको छ । उनीहरूको साथबाट १४ किलो २१० ग्राम गाँजा, गाँजाको दाना र पातसमेत गरेर ७७ किलो ३०५ ग्राम कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

गाँजा बनाउने काममा प्रयोग हुने प्लास्टिक ५ वटा बाटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुन टेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लास्टिकसमेत बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्