नेपाली मूलका बिष्टको भारतमा सानदार शतक



जय बिष्ट

एजेन्सी – नेपाली मूलका युवा ब्याटर जय बिष्टले भारतको लिष्ट ए मान्यता प्राप्त विजय हजारे ट्रफीमा मुम्बईबाट रेलवेजविरुद्ध सानदार शतक हानेका छन् । बेंगलोरमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २४ रन बनाएको थियो ।

ओपनर जय विष्टले १ सय ३७ बलमा १२ चौका र ३ छक्कासहित १ सय ४४ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए । उनको शतकको सहयोगमा मुम्बईले रेल्वेजलाई २६ रनले हराएको थियो । उनको यो करिअरको हालसम्मको उत्कृष्ट प्रदर्शन हो ।

यस अघि जयले विजय हजारे ट्रफीमै २०२१ मा उत्तरखण्डबाट मेघालयविरुद्ध १ सय ४१ रनको शतकीय इनिङ खेलेका थिए । त्यो नै उनको यसअघि करिअरको उच्च प्रदर्शन थियो ।

मुम्बईको टोलीमा जय बाहेक कप्तान अजिंक्या रहाणेले ३ र शरफराज खानले ३८ रन बनाएका थिए । उनको पुख्यौली घर सुदूरपश्चिमको अछाममा हो ।
तर उनी बाल्यकालदेखी नै मुम्बईमा हुर्किएका हुन् । केहि महिना अघि नेपालमा पुख्यौली घर आएका थिए । उनले नेपालको नागरिता लिन इच्छुक समेत देखाउँदै आएका छन् । पछिल्लो समय उनले सामाजिक सञ्जालमा नेपाली दर्शकसँग कुराकानी पनि गर्ने गरेका छन् ।

नेपालमा आएर तत्काल फ्रेन्चाइज लिग खेल्ने सपना रहेको बताउँदै आएका थिए । तर बिसिसिआईले अनुमति नदिदा उनको त्यो सपना भने पूरा हुन सकेको छैन । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले आफ्ना कुनैपनि खेलाडीलाई अन्य देशको विदेशी लिग खेल्न दिँदैन ।

२७ वर्षीय जयले ३० प्रथम श्रेणीमा ४ शतक र ६ अर्धशतकसहित १७ सय १० रन बनाएका छन् । २८ लिष्ट ए खेलमा २ शतक र ८ अर्धशतकसहित १२ सय २१ रन बनाएका छन् । ३४ टि२० खेलमा १ हजार १ रन बनाई सकेका छन् ।

ओपनर जयले २०२१ र २२ मा उत्तरखण्डको कप्तानी गरेका थिए । ओपनरले उनले चोटका कारण दुई वर्ष भने अपेक्षा अनुसार राम्रो गर्न सकेका थिएनन् । तर उनी यस वर्षदेखी मुम्बई फर्किदै राम्रो प्रदर्शन गरेका छन् ।

मुम्बईमा स्टार खेलाडीको छायाँमा परेपछि उनी उत्तरखण्ड जाने निर्णय लिएका थिए । यशस्वी जैसवाल र सूर्यकुमार यादव भने भारतीय टोलीमा अष्ट्रेलियाविरुद्ध सिरिजको कारण मुम्बईको टोलीमा छैनन् ।

त्यस्तै चोटका कारण पृथ्वी शा पनि मुम्बईको टोलीमा छैनन् । पृथ्वी र जैसवाल नहुँदा जय पहिलो रोजाईको ओपनिङमा खेल्दै आएका छन् । उमेर समूह यु१६ र य१९ को क्रिकेट पनि जयले मुम्बईबाट नै खेलेका थिए ।

विजय हजारेमा भारतका ३८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । भारतको लिष्ट ए मान्यता प्राप्त विजय हजारे, टि२० मान्यता प्राप्त शैद मुश्ताक अली ट्रफी र प्रथम श्रेणीको रूपमा रणजी ट्रफी छ । भारतीय टिम र आइपिएलमा यी तीन प्रतियोगिता प्रदर्शनलाई आधार टिम निर्माण गरिने गर्दछ । भारतका सबैभन्दा ठुलो घरेलु प्रतियोगिता समेत यी तीन हुन् ।

प्रतिक्रिया दिनुहोस्