बाँडफाँडमा कुरा नमिल्दा असईद्वारा जवानमाथि गोली प्रहार



असई बच्चा यादव

काठमाडौँ । महोत्तरीमा अनैतिक आम्दानीको बाँडफाँड नमिल्दा एक असईले आफ्नै प्रहरी जवानलाई गोली हानेको घटना  बाहिरिएको छ । प्रहरीले लुकाउन खोजेको घटना बाहिरिएको हो । कार्तिक ३० गते राती ११ बजे महोत्तरीको मारुवाहि प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बच्चा यादवले प्रहरी जवान राजेश साहको हातमा गोली हानी घाइते बनाएको घटना बाहिरिएको हो ।

घाइते जवानको घटनालाई दबाउन असई बच्चा यादवले भारतमा उपचार गराई रहेको र यस कार्यमा उनको भाइ सर्लाही जिल्लामा कार्यरत घुमुवा सहायक हवलदार राम अयोध्या यादवले सघाई रहेको बुझिएको हो । घटना बारे महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई दुई दिन अगाडी मात्र थाहा भएपछि असई बच्चालाई हिरासतमा राखिएको छ ।

प्रहरी उपरीक्षक प्रकाश मल्लले उनले हतियार क्लियरएन्स गर्दा असई बच्चा यादवको पेस्तोलबाट गोली चलेर भितामा ठोकी प्रहरी जवान राजेश साहको कुममा गोली लागेको प्रारम्भिक जानकारी आफूले पाएको बताएका छन् ।

प्रहरी उपरीक्षक प्रकाश मल्लको दाबी प्रति उनका सहकर्मीहरू असन्तुष्ट रहेका छन् । महोत्तरी जिल्लामा कार्यरत एक प्रहरीका अनुसार हरेक युनिट इन्चार्जको डिउटी बेलुका ६ बजे देखी १२ बजे राती सम्म चौकी बाहिर हुने भएकोले हतियार क्लियरएन्स हुँदा गोली अचानक पड्केको दाबीमा सत्यता नरहेको बताएका छन् ।

को हुन् बच्चा यादव ?

प्रहरीका असई बच्चा यादवको विगत पनि  त्यति राम्रो रहेको छैन । उनलाई विगतमा विभिन्न आरोप लाग्दै आएको छ । सामान्य असईले गर्ने व्यवहार भन्दा उनको व्यवहार माथि पनि वेला वेलामा प्रश्न उठ्दै आएको छ । उनी सन्की र दम्भी रहेको आरोप पनि छ ।

यो घटना भन्दा पहिला पनि उनले आफुसँग रहेको हतियार हराएका थिए । तर उनले हतियार आफूसँग रहेको हतिया हराए पनि उनलाई कुनै कारबाही भने भएन । उनको हतियार हराएको घटनामा पनि सर्बेन्द्र खनालसँग नजिक भएकाले मिलाएका थिए । । उनी माथि महोत्तरी प्रहरी उपरीक्षकको घुमुवाको काम गर्दै आएका आरोप  लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्