बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट



nurse exam

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो ।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो । वैदेशिक रोजगार विभागले गएको साउन ५ देखि तीन महिनाको समयावधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो । आह्वान गरिएको आवेदनमा सात सय बढीको आवेदन परेकामा दुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७५ जना मात्रै छनोट भएका हुन् । जसमा चार जना अनुपस्थित रहेकाले अन्तर्वार्तामा ७१ जना मात्रै सहभागी हुने छन् ।

स्वास्थ्यकर्मीको छनोट र पदस्थापन नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियाबमोजिम गरिएको हो । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ ।

प्रोटोकल अनुसार मागभन्दा कम नर्स मात्रै छनोटमा परेका छन् । अनलाइन आवेदन दिएर तोकेको मापदण्ड पूरा गरेकाको बेलायत स्वास्थ्य विभागले प्रारम्भिक सूची सार्वजनिक गरेको छ । छनोट भएका आवेदकलाई मङ्सिर १८ देखि २१ गते ९डिसेम्बर ४ देखि ७० सम्म अन्तर्वार्ताका लागि लैनचौरस्थित बेलायती दूतावासमा बोलाइएको छ ।

न्यूनतम सात अङ्क ल्याउनुपर्ने र दुई वर्षको कार्यानुभव भएको हुनुपर्नेलगायतका मापदण्ड प्रोटोकलमा तोकिएकाले यस पटक आवेदकमध्ये थोरै सङ्ख्या मात्रै छनोटमा परेको हो ।

नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायतका तर्फबाट युके डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयरले नेपाली नर्सलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा भर्ना सुरु गरेको हो । नेपाली नर्सको भर्ना प्रक्रियालाई स्वच्छ र प्रतिस्पर्धी बनाउनका लागि प्रोटोकल अनुसार छनोट गरिएको हो ।

दुई देशबिच भएको श्रम सम्झौता अनुसार नेपाल र बेलायतबिच परीक्षणका रूपमा प्रथम चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ बारे स्पष्ट व्यवस्था गर्ने सहमति भएको थियो । सोही प्रोटोकलले तोकेको व्यवस्था अनुरूप योग्य ठहरिएका ७१ जना नर्सले अन्तर्वार्ता उत्तीर्ण गरेपछि बेलायतमा रोजगारीका लागि अवसर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्