सभापति देउवाले अब प्रधानमन्त्री बन्दिन भन्नुपर्छ : विश्वप्रकाश शर्मा



 काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । सभापति देउवाले आफैँले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने शर्माको भनाइ रहेको छ ।

शनिवार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा शर्माले सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब बन्न नहुने बताएका हुन् । उनले भने, ‘आदरणीय सभापतिले ५/५ पटक त बनिसक्नुभयो, बाँकी यो सम्मेलनले दिएको राप, ताप र शुभकामना उहाँको शीरमा परोस्, प्रधानमन्त्री बन्ने कुरामा ल अघि बढ मेरा समकालीन साथीहरू या आउँ कोही युवा भनेर भन्न सक्ने मनोविज्ञान सभापतिजीले भन्न सक्नुपर्छ ।’

लुम्बिनी प्रदेश सम्मेलनमा महामन्त्री शर्मा, गगन थापा र नेता शेखर कोइरालाले बोल्न बाँकी हुँदैमा सभापति देउवाले आफ्नो भनाइ राखेर बाहिरिएका थिए । शर्माले आफ्नो बोल्ने बेलामा सभापति देउवाका लागि भगवान् गौतम बुद्धको आशीर्वाद माग्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्